धरान । सुनसरीको इटहरी उपमहानगरले वडास्तरमा पुगेर कोरोनाको नमुना संकलनलाई तीव्र पारेको छ । 

ग्रामीण क्षेत्रमा कोरोना संक्रमित बढिरहे पछि इटहरीले आफ्नो ग्रामीण वडाहरुमा पुगेर एन्टिजेन विधिमार्फत् नमुना संकलन गरिरहेको हो । उपप्रमुख लक्ष्मी गौतमका अनुसार हालसम्म २, ३, ४, १२, १४ र १९ नम्बर वडाका नागरिकको नमुना संकलन गरिएको छ । 

पोजेटिभ रिपोर्ट आएकाको हकमा उनीहरुलाई औषधि र चिकित्सक परामर्शका लागि हटलाइन नम्बर उपलब्ध गराइएको छ । कोरोना समुदायमा फैलिन नदिनका लागि नगरले एन्टिजेन विधिमार्फत् परीक्षणलाई तीव्र बनाएको हो । एन्टिजेनमार्फत् कम्तीमा ८ मिनेटभित्र रिपोर्ट प्राप्त हुन्छ । 

यस्तै इटहरी रंगशालामा बिहान ८ वजेदेखि १० बजेसम्म निःशुल्क पीसीआर परीक्षणलाई जारी राखिएको छ । उक्त नमुना संकलनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरिएको छ । नगरले प्रदेश सरकारसँग पनि परीक्षण गर्नका लागि आग्रह गरिएको प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । इटहरी उपमहानगरले कोरोना संक्रमितको हकमा दुईवटा एम्बुलेन्स २४ घण्टै तैनाथ राखिएको छ । 

इटहरी उपमहानगरले रंगशालामा ५० वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ ।