इनरुवा । सुनसरीमा असार १ र २ गते फ्रन्ट लाइनरहरुलाई खोप लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले असार १ र २ गते गरी दुई दिन खोप कार्यक्रम संचालनमा ल्याउने निर्णय गरेको हो ।
बैठकको निर्णय बारे जानकारी दिदैं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सो अवधिमा फ्रन्ट लाइनरका साथै ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक (अघिल्लो खोप कार्यक्रम ६२–६४ उमेर समूहमा छुट भएका) समेतलाई खोप लगाइने बताए।
प्रजिअ ढकालले अघिल्लो खोप कार्यक्रम संचालनको क्रममा केहि स्थानमा नियम विपरित भएको पाइएकाले अबको चरणमा व्यवस्थित साथ अभियान चलाइने जानकारी दिए ।

ढकालले अघिल्लो खोप कार्यक्रमकालागि स्थानीय तहलाई उपलब्ध गराइएको खोप लक्षित उमेर समूह बाहेकलाई लगाइएको जनगुनासो आएको र खोप लगाउन हानाथापको अवस्था सृजना हुने देखिएकाले बाँकी रहेका सबै खोप सुरक्षित साथ फिर्ता ल्याई भण्डारण गरिएको बताए ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार यस पटकको खोप कार्यक्रममा सहभागी हुनेको नाम पहिलानै तय गरिने छ । उसले खोप लगाउनेहरुको हकमा स्थानीय तहका साथै सम्वन्धित निकायले कार्यालयमा नाम उपलब्ध गराउनु पर्ने जनाएको छ ।
स्वास्थ्य प्रमुख सागर प्रसाईले परिचय खुल्ने कागज सहित नाम दर्ता रहेकाहरुको हकमा भेरोसेल खोपको पहिलो मात्रा दिइने बताएका छन् ।
उनले बैठकको निर्णय अनुसार तोकिएको उमेर समूह (६०–६४) का साथै अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका, जनपथ, सशस्त्र सहित ट्राफिक प्रहरी र नेपाली सेना, निजामती कर्मचारी, न्याय सेवाका कर्मचारी, अनुसन्धान कार्यालयका कर्मचारी, वाणिज्य बैंकका कर्मचारी, खानेपानी संस्थान तथा सेवाका कर्मचारीले खोप लगाइने बताए ।
त्यसैगरी नेपाल टेलिकम, विद्युत प्राधिकरण, सर्पदंस इटहरीका कर्मचारी, जिल्ला भित्र कार्यरत बार एसोसिएसनका सदस्य, अक्सिजन उद्योगमा कार्यरत कर्मचारी, पुर्नस्थापना केन्द्रका फिल्डमा खटिने कर्मचारीका साथै पत्रकारहरुलाई समेत असार १ र २ गते खोप लगाइने प्रसाईले जानकारी दिए ।
खोप केन्द्र भने स्वास्थ्य कार्यालयले पालिका स्तरमा तोके बमोजिम संचालनमा ल्याइने प्रसाईले बताए। उनले थप खोप समेत आउने क्रममा रहेकाले क्रमशः अन्यको हकमा समेत खोप कार्यक्रम संचालन गर्दै लैजाने बताए ।