धरान । धरान उपमहानगरपालिकाले फागुन ११ गतेभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई लक्षित गर्दै असार १ गते खोप दिने तयारी गरेको छ ।

फागुन ११ भन्दा अगाडि ३ सयजनाले दोस्रो डोजको खोप लगाउन बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । फागुन ११ गतेभन्दा पछाडिको हकमा भने असार ९ गतेपछि खोप दिने तयारी गरेकाले केही समय पर्खिनका लागि नगरले अपिल गरेको छ ।

फागुन ११ गतेभन्दा अगाडि १ हजार ३ सय ६६ जनाले खोप लगाएका थिए । त्यसमध्ये ३ सयजनाले दोस्रो डोज लगाउन बाँकी रहेको धरान उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । विभिन्न कारणले छुटेकाहरूका लागि ३ सय डोज खोप आइपुगेको छ । 

अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका टोलीले खोप लगाएका थिए । फागुन ११ पछि ९ हजार ६ सय जनाले खोप लगाएका छन् । तर, उनीहरूका लागि दोस्रो डोजको खोप हालसम्म उपलब्ध हुन सकेको छैन । असार १ गते १० बजेदेखि ४ बजेसम्मका लागि खोप लगाउन अनुरोध गरिएको छ । चिनियाँ अनुदानमा धरान उपमहानगरले प्राप्त गरेको २ हजार १ सय ८० खोप बिहीबारसम्म लगाइएको थियो ।