धरान/करिब १२ वर्षदेखि सेफ्टीआर्थराइटिस समस्याबाट पीडित बनेकी सप्तरीकी एक बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सफल शल्यक्रिया गरिएको छ । 

बाह्र वर्षदेखि हिँड्न डुल्न समस्या भएकी सप्तरी रुपनी गाउँपालिका(२ हरिरावाकी १७ वर्षीया आमना खातुनको ‘कृत्रिम जोर्नी प्रत्यारोपण’ गरिएको हो । २०७७ फागुन ३ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनको कृत्रिम जोर्नी लगाएपछि आफै हिँडडुल गर्न सक्षम बनेको उपचारमा संलग्न हाडजोर्नी विभागका विभागीय प्रमुख प्रा.डा. पशुपति चौधरीले जानकारी दिए । उनका अनुसार घुँडाको हेड बिग्रिएर हिँडडुल गर्न र बस्न समेत समस्या भएको थियो । बच्चामै सेफ्टीआर्थराइटिसको समस्याले थलिएकी थिइन् । 

जसका कारण उनको एउटा खुट्टा अर्को खुट्टाभन्दा चारपाँच सेन्टिमिटर सानो समेत रहेको थियो । कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि चार सातासम्म बेडमै खुट्टा तन्काएर राखेका कारण अहिले दुवै खुट्टाको साइज पनि मिलेको प्रा.डा. चौधरीले जानकारी दिए । उनका अनुसार घुँडाको हेड बिग्रिएका कारण नितम्बको ज्वाइन्टै समस्या आएको थियो । जसले गर्दा दाहिने नितम्बको ज्वाइन्टको सफल सल्यक्रिया गरेपश्चात् अहिले सामान्य जीवन बिताउन सक्ने भएको प्रा.डा. चौधरीले जानकारी दिए ।