विराटनगर । कमाउधन्दामा लागेका केही फार्मेसी सञ्चालकहरूको बदमासीको कारण बिरामीले सेवन गर्ने औषधिको प्रदेश १ मा चरम दुरुपयोग हुने गरेको पाइएको छ ।

व्यवसायलाई बदनाम गर्न लागिपरेका केही फार्मेसी सञ्चालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्यसनीहरूलाई बेच्ने गरेको पाइएको हो । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । 

औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम दुरुपयोग गर्ने गरेको भेट्न थालेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरले बिहीबार सुनसरी धरानका एक फार्मेसी सञ्चालकलाई औषधिको अनुचित रूपमा दुरुपयोग गरी लागूऔषध बनाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–१८ घोपा क्याम्पअगाडिको बिम्ब फार्मेसीका सञ्चालक नवीन राईलाई औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा विभागले पक्राउ गरेको हो । 

धरान–११ सयपत्री चौकबाट इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेसी सञ्चालक राईले औषधिको दुरुपयोग गर्ने गरेको खुलेको थियो । त्यसपछि विभागको टोलीले उनलाई पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्ता मुकेशलाई पक्राउ गरेपछि उनले दिएको बयानको आधारमा फार्मेसी सञ्चालक राई पक्राउ परेको औषधि व्यवस्था विभाग विराटनगरले जनाएको छ । यसअघि केही फार्मेसीहरूले टामाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले ‘अपोट्याब, स्पाम र फोक्सिबो नामक औषधि मिसाएर लागूऔषधको रूपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए । ‘यसअघि ट्रामाडोल औषधि मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुखाइ कम गर्ने ओपोट्याब, स्पाम र फोक्सिबोन क्याप्सुललाई मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधि ऐन २०३५ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 

यसअघि पनि नेपाल औषधि व्यवसायी सङ्घ उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले होलसेल औषधि पसल खोलेर औषधिको अनुचित प्रयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री-वितरण गर्ने गरेको पाइएको थियो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल औषधिको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई औषधि बिक्री-वितरण गर्ने गरेको विभागले अनुगमनको क्रममा भेटेको थियो । सङ्घका महासचिव रहेका झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागूऔषध प्रयोगकर्तालाई बिक्रीवितरण गर्ने गरेको फेला परेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

यी तीनवटा औषधि मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागूऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ ।

प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् ।  त्यस्तै डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । तर, कमाउधन्दामा लागेका सङ्घका महासचिव  झाले महँगो मूल्यमा दुव्र्यसनीलाई दिने गरेको भेटिएको विभागका प्रमुख शर्माले जानकारी दिए । झाको पसलबाट औषधि खरिद गर्ने दुव्र्यसनीलाई पनि विभागले पक्राउ गरेको थियो । विभागले उदयपुरको बेलका नगरपालिकाका १८ वर्षीय पर्शुराम दर्जीलाई पक्राउ गरेको थियो । 


दर्जी पक्राउ परेपछि झाले औषधिको अनुचित प्रयोग गर्ने गरेको खुलेको हो । लागूऔषध प्रयोगकर्तालाई औषधिको अनुचित प्रयोग गर्दै बिक्री गर्ने झाको पसल अर्को निर्णय नभएसम्मको लागि सिलबन्दी र उनलाई औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ अनुसार कारबाहीको दायरमा ल्याउने निमित्त कार्यालय प्रमुख कट्टेलले जानकारी दिए ।

महासचिव झाले १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई महँगो मूल्य लिएर औषधि बिक्रीवितरण गरेको विभागले जनाएको छ । यसअघि पनि लागूऔषध प्रयोगकर्तालाई झाले औषधिको अनुचित प्रयोग गर्दै बिक्रीवितरण गर्ने गरेको पाइएको थियो ।