विराटनगर / पुरानो र सजाय कम भएको औषधि ऐन २०३५ हुँदा औषधि क्षेत्रमा देखा परेको विकृति र विसङ्गति अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारबाही गर्न औषधि व्यवसायीहरूले माग राखेका छन् ।

नेपाल औषधि व्यवयासी सङ्घको ४९ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै व्यवसायीहरूले यस्तो

बताएका हुन् । औषधि क्षेत्रमा देखापरेको विकृति र विसङ्गति अन्त्य गरी स्वच्छ र मर्यादित व्यवयास सञ्चालन गरिनुपर्नेमा उनीहरूले जोड दिए । नेपाल औषधि व्यवसायी सङ्घका पूर्वअध्यक्ष लक्ष्मण माझीले व्यवसायी एकढिक्का भएर स्वच्छ र मर्यादित रूपमा व्यापार–व्यवसाय गरिनुपर्नेमा जोड दिए ।

नेपाल औषधि व्यवसायी महासङ्घ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधि क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छ तरिकाले औषधि व्यवसायीहरूले व्यापार–व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सङ्घका उपाध्यक्ष देशबन्धु ढकालले पुरानो औषधि ऐनलाई परिमार्जन गरी कडा सजाय भएको औषधि ऐन ल्याउनुपर्ने बताए । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ज्यान लिनेसम्मका अपराध गरेको देखापरेका छन् । तर, अहिले पुरानो औषधि ऐन हुँदा अपराधमा संलग्न प्रतिवादी सामान्य धरौटीमा छुट्ने र पुरानै धन्दा सञ्चालन गर्ने गर्दछन्’ उनले भने, ‘त्यही भएर राज्यले कडा सजायको व्यवस्था राखेर औषधि ऐन परिमार्जन गरेर ल्याउनुपर्दछ । जसले गर्दा औषधिक्षेत्रमा देखापरेको विकृति अन्त्य हुनेछ ।’

कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले औषधि क्षेत्रमा देखापरेको विकृति अन्त्य गर्न सबै क्षेत्र लागिपरे 

मात्र स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गर्न सकिने बताए । उनले औषधि ऐन संशोधन गर्न राज्य लागिपरेको बताए । ‘अहिलेको ऐन पुरानो भएकोले औषधि ऐन संशोधनको लागि ३ पटक ड्राफ्ट भइसकेको छ’ उनले भने, ‘नयाँ आउने औषधि ऐनमा थप परिमार्जन भएर आउनेछ ।’ कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य चन्द्रदत्त पौडेल, पूर्वअध्यक्ष सुवास अग्रवाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्ष सञ्जीव खनाललगायतले बोलेका थिए । सोही अवसरमा ४३ सालदेखि मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्दै आएका अशोक थापालाई सम्मान गरिएको छ । थापालाई कदर–पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेल र सङ्घका अध्यक्ष तिम्सिनाले सम्मान गरे ।

स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे । सोही अवसरमा विराटनगरस्थित कोशी अस्पतालका बिरामीलाई फलफूल पनि वितरण गरियो । यसअघि मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलमा रहेको एक दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको थियो भने मोरङको उर्लाबारी–७ मा रहेको नमुना बालगृहका बालबालिकाहरूको लागि महिना दिनसम्मलाई पुग्ने खाद्यान्न र मोरङको पूर्वीक्षेत्रका सञ्चारकर्मीहरू आबद्ध भएका सञ्चार क्लब उर्लाबारीलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।