संखुवासभा । जिल्लाको अति दुर्गम भोटखोला र मकालु गाउँपालिकालाई संखुवासभा लर्निङ ग्राउण्ड र केटिके बेल्टले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मकालु गाउँपालिकाको केन्द्र नुममा विहिबार र भोटखोलाको गोला बजारमा शुक्रबार एक कार्यक्रमका बीच ९ लाख बढिको स्वास्थ्य सामाग्री निशुल्क वितरण गरिएको हो ।
दुवै गाउँपालिका प्रमुख एवम् प्रतिनीधीहरुलाई सहयोग सामाग्री तथा नगद सहयोग गरेको हो । कोरोना महामारी लगायत अन्य विभिन्न प्रकारका विरामीहरुलाई लक्षित गरि दर्गम गाउँपालिकाहरुका नागरिकहरुका लागि स्वास्थ्य संस्थामा प्रयोग हुने स्वास्थ्य सामाग्री वितरण गरिएको संखुवासभा लर्निङ ग्राउण्डका अध्यक्ष एवम् केटिके बेल्टका सदस्य कर्मा भोटियाले बताए ।
जिल्लाको अति दुर्गम दुई गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (१० लि.) ४ थान, फेस सिल्ड २१० ओटा, पल्स अक्सिमिटर ४० थान, डिजीटल थर्माेमिटर १३२ वटा, केएन ९५ मास्क ७० पिस, सेनिटाईजर (१ लि.) २५ बोतल, पिपिई सेट ६० सेट र मकालु गाउँपालिकाको आईसोलेशनका विरामीहरुको लागि नगद ३० हजार रुपियाँ उपलब्ध गराएको संखुवासभा लर्निङ ग्राउण्डका संखुवासभा जिल्ला संयोजक मिक्मा तेम्बा लामाले बताए ।
कोरोना महामारी गाउँ गाउँमा संक्रमण भईरहेको समयमा स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य समाग्री नहुँदा समस्या हुने भन्दै समाग्री हस्तान्तरण गरिएको हो । समाग्री हस्तान्तरण गर्दै अध्यक्ष कर्मा भोटियाले कोरोना मात्र नभई अन्य विरामीहरुलाई सहज उपचारमा सहयोग पुग्ने बताए । गाउँपालिका अध्यक्ष तेज बहादुर पोख्रेलले सामाग्री बुझ्दै यस्ता महामारीको समयमा सहयोग गर्ने संस्थाको साथको लागि धन्यवाद दिए ।

उनले स्थानीय सरकारको सिमित श्रोत साधानबाट जतिसक्दो स्वास्थ्य सेवा प्रदान गरिरहेको र सेवामा थप गर्नको लागि सहयोग गर्ने दातृसंस्थाको सहयोगको भरपुर उपभोग गर्न सबै संयन्त्र परिचालन गर्ने बताए । संखुवासभा लर्निङ ग्राउण्डले विगत ८ बर्षदेखि भोटखोला र मकालुको विभिन्न क्षेत्रमा जैविक साँस्कृतिक विविधताको संरक्षण, जिविकोपार्जन र पर्यपर्यटनसम्बन्धी काम गरिरहेको छ ।