भण्टाबारी। सिल नाकाबाट तीनवटा नेपाली नम्बर प्लेटको गाडीमा तस्करी गरी भारत पु¥याइएको चाइनिज स्याउ सम्बन्धमा गठित अनुसन्धान टोलीले प्रतिवेदन बुझाएको छ ।
भारतीय प्रहरीले जेठ ३० गते तीनवटा नेपाली नम्बरको गाडीबाट भारी परिमाणमा चाइनिज स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीतर्फबाट गठित अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन सङ्घीय प्रहरी इकाई कार्यालयका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
उक्त छानबिन टोलीमा संयोजक एसएसपी चौधरीसँगै एक डिएसपी, इन्स्पेक्टर, सइ र एक हवल्दार थिए । नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ बोकेर तीनवटा नेपाली गाडी सजिलैसँग भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीउपर गम्भीर प्रश्न उब्जिएको थियो ।
आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चारजना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको अनुसन्धान अधिकृत एसएसपीको भनाइ छ । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चाइनिज स्याउ बोकेका तीनवटा नेपाली नम्बरका ट्रक भारतसम्म पु¥याइएको थियो ।
घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सइ गङ्गा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असइ टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असइ आशनारायण चौधरीलाई निलम्बन गरेको थियो ।
यद्यपि अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सइ गङ्गा थापा र कोशी कटानका असइ आशनारायण चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असइ टेकबहादुर कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए ।
त्यसैगरी अस्थायी प्रहरी चौकी हरिपुरका असइ भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सइ किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको बताइएको छ ।
तीनवटा ट्रकमा लोड गरेर चाइनिज स्याउ तस्करी गरी भारत पु¥याइएपछि सर्वत्र चर्चाको विषय बनेको पछिल्लो घटनाबारे अनुसन्धान गर्दै भारतसँग रहेको खुला सीमानाकाका कारण विगतका घटनाबाट पाठ सिक्दै चोरी–पैठारी न्यूनीकरण तथा नियन्त्रणमा प्रहरीलाई थप जिम्मेवार बनाउन सुझावसमेत अनुसन्धान टोलिले पेश गरेको बुझिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको बुझिएको छ ।
भारतमा तीनवटा नेपाली नम्बर प्लेटका गाडीबाट ठूलो परिमाणमा स्याउ बरामद भएपछि सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलगायत दोषी देखिएको बताइएको छ । यद्यपि यसबारेमा बुझ्न पटक–पटक अनुसन्धान अधिकृत थापालगायतलाई सम्पर्क खाज्दा उनीहरूको फोन उठेन ।