धरान। धरान–१० नारायण चौकको सैलाहाङ किराना पसल चोरी भएको छ ।
बन्दाबन्दीका कारण बन्द रहेको पसलको ताल्चाको नक्कली चाबी बनाई चोरी गरिएको पसलका सञ्चालक सन्तोष लिम्बूले जानकारी दिए । चोरी भएकोबारे आफूलाई असार १२ गते मात्रै जानकारी भएपछि इलाका प्रहरी कार्यालय धरानलाई चोरी भएको सामग्रीसहित अनुसन्धान गर्नका लागि निवेदन दिएको उनले बताए ।
प्रहरीले खोजतलास गर्दा पसलको माथिल्लो तलामा बस्ने पङ्कज भट्टराईको कोठाबाट सामग्री बरामद गरेपछि प्रहरीले भट्टराईलाई पक्राउ गरेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले चोरीको घटनामा मानिस पक्राउ गरिएको पुष्टि गरे पनि अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै थप भन्न सकिने बताए ।
उनले भने, ‘एक जनालाई पक्राउ गरिएको छ, अनुसन्धान भइरहेको छ, थप कुरा भोलिमात्रै भन्न सकिन्छ ।’ यता सञ्चालक लिम्बूले इप्रका धरानलाई चोरी भएका सामग्रीको जानकारीसहित भट्टराईविरुद्ध किटानी जाहेरी दिएका छन् ।
उनले भने, ‘चोरी भएको सामग्री र भट्टराईविरुद्ध किटानी जाहेरी दिएको छु ।’ उनका अनुसार चोरीमा आरोपित व्यक्ति धरान–६ को पानबारीस्थित एक बोर्डिङ स्कुलमा पढाउँदै आएका व्यक्ति हुन् ।
बन्दाबन्दीपछि स्कुल पनि बन्द रहेको थियो । झापा निवासी भए पनि उनी धरान–१० मा श्रीमतीको साथमा बस्दै आएका थिए ।