धरान / वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय देखिएको समस्या समाधानको पहलका लागि धरान सरोकार समाज काठमाडौंले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई ज्ञापनपत्र बुझाएको समाजले बुधबार उपमहानगरपालिकाका प्रमुखलाई बुझाएको हो । असार १२ गते सरोकार समाजले प्रतिष्ठानका पूर्वउपकुलतिहरु, नेपाल सरकारका पूर्व सचिव, पूर्वमन्त्री, सांसदहरु, धरानका नगर प्रमुख र उपप्रमुख तथा प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी, विद्यार्थी समेतलाई सहभागी गराएर जुम मार्फत बैठक गरेको थियो । उक्त बैठकमा भएका कुराहरुलाई समेटेर तयार पारिएको ज्ञापनपत्र उपकुलपति र नगरप्रमुखलाई बुझाईएको हो । उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी, प्रदेश १ का मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री समेतलाई बुझाईने समाजकी सल्लाहकार सरु जोशीको भनाई छ ।

प्रतिष्ठानको बेथिति अन्त्यका लागि समाजले गरेको पहल सकारात्मक भएको उपमहानगर प्रमुख राईले बताए । प्रतिष्ठानको स्थापना कालको सोच र लक्ष्य अहिले गुम्दै गएकोमा चिन्ता व्यक्त गर्दै समाजले सुधारका लागि निरन्तर पहल गरिरहने जनाएको छ । समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले काठमाडौंमा गएर पनि प्रतिष्ठान सुधार बारे निरन्तर छलफल चलाउने बताए । उनले भने, ‘बीपी प्रतिष्ठान धरानको मात्र होईन देशकै गौरव हो, यसलाई जोगाउन सम्बन्धित निकायलाई झक्झक्याईरहन्छौं ।’