विजयपुर । धरान–४ दानाबारीको वैदाम खोलामा जेठ ५ गते मृत फेला परेका २५ वर्षीय प्रदीप सुब्बाका आफन्तले प्रहरीले जोहरी दर्ता नगरेको आरोप लगाएका छन् । 

मङ्गलबार धरान–१८ मा मृतकका आफन्तले पत्रकार सम्मेलन गर्दै प्रहरीले दोषीको विरुद्ध किटानी जाहेरी दिए पनि जाहेरी दर्ता गर्न नमानेको बताए । उनीहरूले प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको पनि बताएका छन् । प्रहरीको लापरबाहीले गर्दा आफू थप अन्यायमा परेको आफन्तले बताए । मृतककी बहिनी कृतिमा सुब्बाले घटना योजनाबद्ध रूपमा भएको दाबी गरिन् ।

सुब्बाले दाजुको मृत्यु हुनुमा भरत भुजेल, माथिल्लो पत्रङबारीका फर्म सञ्चालक मङ्गलसिंह लिम्बू र ‘जन्तरे’ भनेर चिनिने रामकुमार राईको संलग्नता रहेको दाबी गरेकी छन् । उनले भरत भुजेलसहित उनीहरूसँग पहिले झगडा हुँदा मृतकको मोबाइल फुटेको बताइन् ।

बिग्रिएको मोबाइल उनीहरूले नै बनाइदिने भनेको र वैशाख ७ गते मोबाइल बन्यो, लिन आइज भनेर भरतले बोलाएपछि प्रदीप गएको सुब्बाले उनले बताइन् ।

उक्त दिनदेखि प्रदीप बेपत्ता भएका थिए । उनीहरूसँगै फर्ममा काम गर्ने रामकुमार राईसहित ३ जनासँग झगडा भएकाले उनीहरूले त्यही निहुँमा हत्या गरेको आरोप छ । कृतिमाले खोजतलास भइरहेको बेला भरत भुजेलले ‘स्थानीयले बेवारिसे अवस्थामा शव फेला पारेको छ, तिम्रो दाजुजस्तो लाग्यो, म शव भएको स्थानमा नै छु’ भनेर फोन गरी बोलाएको बताइन् ।

उनले त्यहाँ पुगेर शव भएको स्थानमा पु¥याउन आग्रह गर्दा शव भएको स्थानमा जाने बाटो भुलेको भन्दै थाहा नपाएजस्तो गर्नु पनि हत्याको पुष्टि हुने आधार रहेको बताइन् ।

मृतकको नागरिकता प्रमाण–पत्र रामकुमार राईको घरमा फेला परेको र मङ्गलसिंह लिम्बूसँग पनि झगडा भएकाले ३ जनाले नै हत्या गरी फालेको परिवारको दाबी छ । मृतकका आफन्त एरुस राईले आधारसहित किटानी जाहेरी दिँदा पनि हालसम्म दर्ता नगरेको बताए । उनले  प्रहरीलाई अनुसन्धान कहाँ पुग्यो, किन दर्ता नगरेको भनेर बुझ्दा जोरी खोज्न आएको भन्दै धम्काएर थप अन्यायमा पारेको बताए ।

मृतकका बुबा सूर्यबहादुर सुब्बाले आफूलाई पहुँच नभएको गरिब भनेर १ महिना बित्दासमेत जाहेरी दर्ता नगरेको बताए । उनले अहिलेसम्म पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक नगरेको बताए । उनले भने, ‘प्रहरीले पावर र पहुँचको भरमा आफू गरिब भएकाले जाहेरी दर्ता गरेन, अब अदालत जान्छु ।’

उनीहरूले सत्य–तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । घटनालाई पहिलेदेखि नजिकबाट नियालिरहेका इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले भर्खर मात्रै धरान आएका डीएसपीलाई सम्पर्क गर्नू भन्दै पन्छिए ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले अनुसन्धान भइरहेको बताउँदै क–कसको संलग्नता रहेको भन्ने कुरा पुष्टि नभएको बताए । उनले भने, ‘पीडितले प्रतिवादी बनाएकामध्ये कसको संलग्नता हो, ३ जनाकै छ या अन्यको पनि छ, त्यही कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ उनले पुष्टि भएपछि सार्वजनिक गर्ने बताए ।