मादक पदार्थ सेवन गरी धाकधम्कीसहित भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय रुपमा अध्ययनरत चिकित्सकले प्रहरीसमक्ष उजुरी दिएका छन् ।
प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीले छिमेकी क्वाटरका डिएम अध्ययनरत डाक्टरलाई धाकधम्की दिएको भन्दै रायमाझी विरुद्ध डाक्टर विप्लव कार्कीले प्रहरीमा लिखित निवेदन दिएका छन् ।
उनले लेखा प्रमुख रायमाझीले मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको, मानसिक तनाव दिएको र भौतिक आक्रमणको धम्की दिएको निवेदनमा खुलाएका छन् ।
रायमाझीले अपशब्द प्रयोग गर्दै क्वाटरबाट निकलिदिने धम्की दिएको निवेदनमा उल्लेख गरेका छन् ।
रायमाझीलाई हदैसम्मको कारबाही गर्न प्रतिष्ठानका चिकित्सक, विद्यार्थीले माग गरेका छन् ।
अबेर रातिसम्म प्रतिष्ठानका चिकित्सक, विद्यार्थीले रायमाझीको मापसे जाँच गर्नुपर्ने माग गरेर उनको कोठा घेराउ गरे पनि रायमाझीलाई भेट्न सकेका थिएनन् । क्वाटर घेराउपछि प्रहरी आएको र रायमाझी भागेको उनीहरुको आरोप छ ।
रायमाझीले जेआर र डिएम अध्ययनरत चिकित्सकको क्वाटर आफूले लिन खोजेपछि विवाद बढेको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ ।
आरोपित लेखा प्रमुख रायमाझीले आफूमाथि लागेको आरोप मिथ्या रहेको सन्चारमाध्यमलाई बताएका छन् ।
मदिरा पिएको समेत उनले अस्वीकार गरेका छन् । क्वाटरको विषयमा भने निकै अघिदेखि विप्लव कार्कीसँग सरसल्लाह भएको बताएका छन् ।
'कोठाकै विषयमा विप्लवले प्रतिबद्धता पूरा नगरेको विषयमा तँ तँ म म भएको हो, पिएर गालीगलोज गरेको होइन ।' रायमाझीले भने, 'नियोजित रुपमा प्रहरीलाई बोलाउने काम भयो, क्वाटर अगाडि भीड भएपछि बाहिर बसेको हुँ भागेको होइन ।'
रायमाझीले आफूलाई फसाउन खोजेको बताएका छन् ।
प्रतिष्ठानको कार्डियोलोजी विभागमा कार्यरत डिएम रेजिडेन्ट डा. कार्कीले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिँदै लेखा अधिकृत कमल रायमाझीले आइतबार साँझ ८ः३० बजेतिर आफू बस्ने आवासमा आएर जथाभावी गाली गलौज गर्दै धम्की दिएको निवेदन दिएका छन् ।
डा. कार्कीलाइ असार ३० गते प्रतिष्ठानले ७ दिनभित्र क्वाटर खाली गर्न पत्र पठाएको छ ।


































