लक्ष्मीमार्ग । स्थानीय तहको चुनाव नजिकिएसँगै प्रमुख राजनैतिक दलका नेताहरू आफ्नो चुनावी जिल्लाका गाउँगाउँ पस्न थालेका छन् । चुनाव तयारीका लागि गाउँमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन दलका नेता भ्याई नभ्याई देखिन्छन् ।
देशभरीकै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङमा यस पटक अघिल्लो वर्षको निर्वाचनको तुलनामा १ लाख ४१ हजार ७ सय २४ जना मतदाता थपिएर मतदाता सङ्ख्या ७ लाख १५ हजार २ सय २३ पुगेको छ । ६ वटा निर्वाचन क्षेत्र र १७ पालिका रहेको यस जिल्लामा निर्वाचन नजिकिए सँगै प्रदेश देखी केन्द्र स्तरका नेताहरूको दौडधुप बढ्दो छ ।
काँग्रेसको कार्यक्रममा केन्द्रीय नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, सुजता कोइराला, अमृत अर्याल लगायतका नेताहरू गाउँगाउँमा गएर कार्यकताहरु लाई सम्बोधन गरिरहेका छन् । त्यसै गरी एमाले बाट केन्द्रीय नेताहरू भानुभक्त ढकाल, लालबाबु पण्डित, विनोद ढकाल लगायतका नेताहरू कार्यकर्ता भेटघाटमा जिल्लामै व्यस्त भेटिन्छन् ।
माओवादी केन्द्रका नेताहरू गोपी अछामी, सावित्री कुमार काफ्ले, शिवकुमार मण्डल लगायतका नेताहरू पनि गाँउ–गाँउमा सङ्गठन निर्माणमा जुटेका भेटिन्छन् । त्यसै गरी जनता समाजवादी र एकीकृत समाजवादी पनि चुनावको तयारीमा जुटेको देखिन्छ ।

ठुलो दल नेकपा एमालेले केही दिनदेखि टोल कमिटी निर्माण गर्ने र सबै किसिमका जन वर्गीय सङ्गठनलाई सक्रिय बनाउन विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।
यस पटक कम्युनिस्ट कमजोर भएको मौका पारेर काँग्रेसले सबै तहमा आफ्नो जित सुनिश्चित गर्ने रणनीतिको साथ अघि बढेको छ । गाउँगाउँमा पुगेका नेताले उम्मेदवार टुंगो नलागे पनि आफ्नो पार्टीलाई जिताउन भोट माग्न थालिसकेका छन् ।
एमाले र काँग्रेसका कार्यकर्ता बिचमा उम्मेदवारका लागि टिकटको हानथाप हुन थालिसकेको छ । टिकटको लबिङका लागी स्थानीय नेताहरू जिल्ला देखी केन्द्र सम्मका नेताकोमा धाई रहेका छन् ।