धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ भन्दै काठमाडौंको युवाहरुको संस्था हामी नेपालले प्रतिष्ठानको डेन्टल गेटअगाडि धर्ना दिएको छ ।
प्रतिष्ठान सुधार नभइञ्जेलसम्म अभियान जारी राख्ने संस्थाले जनाएको छ । शनिबार धरानको भानुचौकदेखि र्यालीसहित सयौं युवाहरु प्रतिष्ठानको डेन्टल गेट अगाडि धर्ना दिएका थिए । यो कार्यक्रम हरेक दिन दिनको दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको आमन्त्रित सदस्य महेश श्रेष्ठले जानकारी दिए ।
बीपी प्रतिष्ठान बचाउनका लागि हामी नेपाल नामक संस्थाले धर्नालगायतको कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । उक्त संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार प्रतिष्ठानमा हुने गरेको आर्थिक अनियमितता तथा भ्रष्टाचार न्यूनीकरण गर्दै सुधारका लागि आफूहरुको आन्दोलन रहेको जनाए ।

हरेक दिन दैनिक दुई घण्टा डेन्टल गेटमा धर्ना दिइने भएको छ । उक्त संस्थामा धरानका युवाहरु पनि संलग्न छन् । बीपी प्रतिष्ठानको विकास र सहकार्यका लागि शुक्रबार मात्रै फ्रेन्ड्स क्लबलाई पुनर्गठन गरिएको छ । बीपी प्रतिष्ठानमा रहेक वर्ष महालेखा परीक्षकले बेरुजु भएको देखाउने गरेको छ । हरेक वर्ष बेरुजु बढ्दै गएको छ । यही बीचमा चैत २३ गते सिनेट बैठक बस्ने भनी तय गरिएको भए पनि प्रतिष्ठानका उपकुलपतिलगायतले सर्वोच्च अदालतमा रिट हालेपछि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।