धनकुटा । गृहमन्त्री बालकृृष्ण खाँडले एमसीसी परियोजनाका विषयमा जनतामा भ्रम नफैलाउन आग्रह गरेका छन् ।

प्रतिपक्षी नेकपा (एमाले)ले एमसीसीको अपव्याख्या गरेर जनतामा भ्रम फैलाउने काम गरेको मन्त्री खाँडको आरोप थियो । नेपाली काङ्ग्रेसको आमसभालाई शनिबार धनकुटामा सम्बोधन गर्दै मन्त्री खाँडले सडक र बिजुुलीको परियोजना लागू हुुँदैमा नेपाली सार्वभौमिकता अप्ठेरोमा नपर्ने दाबी गरे । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँडले विगतमा भएका द्वन्द्वले सिर्जना गरेको घाउ मेटाउन बलियो संयन्त्र रहेको बताए ।

शनिबार धनकुटामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्न आएका मन्त्री खाँडले वर्तमान सरकारले सहिद परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर द्वन्द्वले सिर्जना गरेको सबै घाउ मेटाउन कार्यक्रम बनाउन थालेको बताए ।

वर्तमान गठबन्धन आगामी स्थानीय निर्वाचनका लागि मात्र नभएको नेकपा (एमाले) ले बुभ्mनुपर्ने बताए । उनले भने, ‘मुलुकलाई शान्ति र समृद्धिका लागि विगत १० वर्षे जनयुद्धपछि स्व.गिरिजाप्रसाद कोइरालाले सुरु गरेको अभियान थप बलियो बन्दै गएको छ ।’

हिजो हिंसात्मक आन्दोलनमा रहेको सम्पूर्ण पक्षलाई शान्ति प्रक्रियामा ल्याउने नेपाली काङ्ग्रेस अहिले मुलुकका तीन तहको सरकारबाट संविधान विरोधी शक्तिलाई सत्ताच्यूत गर्ने, मुलुकमा निरङ्कुशता, हिंसा र द्वन्द्व जारी राख्न खोज्ने शक्तिलाई मुलुकमा स्थापित हुन नदिने अभियानमा रहेको बताए ।

हालको गठबन्धन गरेर आगामी निर्वाचनमा विजयी बनेपछि मुलुकका सामान्य नागरिकलाई शिक्षा, स्वास्थ्य, यातायात, पिउने पानी र स्वरोजगार सहितका आधारभूत आवश्यकता पूरा गर्ने कार्यक्रम तयार गरेर मौलिक अधिकारको स्थापित गर्ने योजना बनिसकेको बताए ।

निरङ्कुश ओली सरकार केन्द्र देखि प्रदेशसम्म सत्ताच्यूत भइसकेकोले अब स्थानीय तहमा सत्ताच्यूत गर्न गठबन्धन आवश्यक रहेकोले हामी पाँच दलीय मोर्चामा आबद्ध छौं ।’ यो गठबन्धन निर्वाचनमा मात्र हैन, आगामी पाँच वर्षसम्म निरन्तर जनताको विकास निर्माणमा लाग्ने बताए ।

नेकपा (एमाले) तर्फ इङ्गित गर्दै मन्त्री खाँडले भने कुनै पनि पार्टीका  नेता तथा कार्यकर्ताले अन्य दलका नेता र कार्यकर्तालाई धम्क्याउने, रुख ढालेर बाटो अवरोध गर्ने कुनै पनि दलका नेतालाई पक्राउ गरेर कारबाही गर्ने उनले बताए ।

शनिबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई धनकुटा नगरपालिका वडा नं. २ भीरगाउँमा रहेको स्वाथ्य चौकी भवन उद्घाटन कार्यक्रममा जान नदिन नेकपा (एमाले) ले रुख ढालेर बाटो अवरुद्ध गरेको  थियो ।

साथै सो स्वास्थ चौकी शुक्रबार नै नेकपा (एमाले) बाट निर्वाचित धनकुटाका सङ्घीय सांसद् राजेन्द्रकुमार राईले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, आङ्गेलु शेर्पा, रामहरि खतिवडासमेतले मन्तव्य राखेका थिए ।