भोजपुर । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक होमस्टे तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाले बाधा पु¥याएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि वनसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा प्रक्रियागत सहजीकरण गर्नुपर्ने उनीहरूको माग छ । मङ्गलबार भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय क्षेत्रको सम्भावना उपयोग गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला पक्षको सहभागिता थियो ।
षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले होमस्टे दर्ताका लागि जग्गाधनी प्रमाणपुर्जा अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण वन क्षेत्रभित्र घरबास सञ्चालन गर्न कठिनाइ भएको बताए । पर्यटकीय क्षेत्रका चौर तथा खर्कमा वातावरणमा असर नपर्ने गरी अस्थायी संरचना निर्माण गर्न पाउने व्यवस्था गर्न वनसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले वनसम्बन्धी कानुनी व्यवस्थाका कारण मुन्दुम पदमार्गमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न नसकिएको बताए । वन क्षेत्रलाई असर नपर्ने गरी घरबास तथा गोठबास (गोठ स्टे) निर्माण गर्न राज्यले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले नीतिगत व्यवस्थाका कारण पर्यटकीय क्षेत्रमा घरबासलगायत संरचना निर्माणमा कठिनाइ भइरहेको बताए । पदमार्गमा आवश्यक बासस्थान निर्माण गर्न नसक्दा पर्यटकले असुविधा भोग्नुपरेको उल्लेख गर्दै उनले विद्यमान नीतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।
टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले घरबास दर्ताको अधिकार स्थानीय तहलाई दिनुपर्ने बताइन् । स्थानीय आवश्यकताअनुसार पर्यटक लक्षित संरचना निर्माण गर्न वनसम्बन्धी कानुन संशोधनसँगै प्रक्रियागत सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो ।
डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले सामुदायिक वनले कार्यविधि बनाएर सामुदायिक घरबास सञ्चालन गर्न सक्ने व्यवस्था रहेको जानकारी दिए । तर, वन क्षेत्रको जग्गामा व्यक्तिगत रूपमा कुनै पनि संरचना निर्माण गर्न नसकिने उनले स्पष्ट पारे ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख कृष्ण न्यौपानेले छलफलमा जनप्रतिनिधि तथा सरोकारवालाबाट प्राप्त सुझाव मन्त्रालयमा प्रस्तुत गरिने बताए । सुझावमाथि छलफल गरी आवश्यक सहजीकरणका लागि पहल गरिने उनले जानकारी दिए ।
मुन्दुम पदमार्गमा पर्यटकको बसाइ अवधि लम्ब्याउँदै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन होमस्टे तथा आवश्यक पूर्वाधार निर्माण सहज बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए । कार्यक्रममा भोजपुरमा हालसम्म तीनवटा मात्र होमस्टे दर्ता भएको जानकारीसमेत दिइएको थियो । रासस

































