विराटनगर । मोरङमा कांग्रेसबाहेकका तीन दलले गठबन्धन गरी स्थानिय तहको निर्वाचन जान छलफल सुरु गरेका छन् ।
नेपाली कांग्रेसका मोरङस्थित विभिन्न स्थानीय संयन्त्रले चुनावमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गर्न थालेपछि सत्ता गठबन्धनका अन्य तीन दलहरूले काँग्रेसबाहेक गठबन्धन गरी निर्वाचन जाने छलफल सुरू गरेका हुन् ।
विराटनगरस्थित इस्टनस्टार होटलमा शुक्रबार बिहान काँग्रेस बाहेकको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरूले कांग्रेससँग तालमेल नगरी चुनाव लड्नेबारे छलफल सुरू गरेका हुन् ।
कांग्रेसले तालमेल नगरे आफूहरु मिलेर जाने विषयमा छलफलका सहभागी नेताहरुले सुझाव राखेको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती (शुशिल) ले जानकारी दिए । छलफलमा माओवादी केन्द्रबाट प्रदेश सचिब उप्रेती, मोरङ जिल्ला अध्यक्ष विजय विश्वास, एकीकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य महेश रेग्मी, जिल्ला अध्यक्ष चन्द्रवीर राई, जसपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलगायतका नेताहरूको उपस्थिती रहेको थियो । छलफलमा तालमेल गर्ने विषयमा मोरङमा कांग्रेसले चासो नदिएपछि सरकारमा रहेका गठबन्धन दलले अलग्गै संम्भावना खोजी गर्दै छलफल शुरु गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीले कांग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको जानकारी दिए । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले कांग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने बताए । ‘केन्द्रीय नीति अनुसार कांग्रेस र अरू दल अघि बढनुपर्छ,’ रेग्मीले भने, ‘ ‘होइन, केन्द्रकै निर्णयलाई चुनौती दिने हो भने हामीले कांग्रेस पर्खिरहनुपर्ने आवश्यकता छैन । हामी तीन दलीय गठबन्धन बनाउन तयार छौं ।’
जनता समाजवादीका नेता एवम् अघिल्लो पटक मेयरका उम्मेद्वार उमेश यादवले कांग्रेससँग विराटनगरमा गठबन्धन गर्नै नहुने बताए । ‘अघिल्लो पटक १० हजारभन्दा बढी मत हाम्रो बदर भएर हामी पराजित भएका थियौं, त्यसबेला छोटो समय भएका कारण जनतालाई बुझाउन सकिएन,’ उनले भने, ‘‘त्यसैले यसपटक बेलैमा तीन दलीय गठबन्धन बन्छ । मतदाता शिक्षामा जोड दिएर जाँदा हाम्रो गठबन्धन विजेता बन्ने निश्चित छ ।’
कही दिनयता मोरङमा आफ्नो शक्ति बलियो रहेको आँकलनसहित कांग्रेसले धमाधम एकल चुनाव लड्ने घोषणा गरिरहेको छ । यही क्रममा विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन् । विराटनगर महानगरमा कांग्रेसलाई तालमेलको आवश्यकता नभएको महानगर सभापति दिपक चापागाइँले बताए । त्यसैले प्रमुख, उपप्रमुख, वडा अध्यक्षदेखि सदस्यहरुसम्मै तालमेल नगर्ने निर्णय भएको उनले सुनाए ।
यसअघि मोरङकै सुनवर्षी नगर समितिले पनि यस्तै निर्णय गरिसकेको छ । कांग्रेसका जिल्ला नेताहरुका अनुसार स्थानीय संयन्त्रले गरेको निर्णयमा पार्टीको माथिल्लो समितिले हस्तक्षेप गर्ने छैन । ‘केन्द्रले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नु भनेकै आधारमा हामीले यस्तो निर्णय लिएका हौं,’ महानगर सभापति चापागाइँले भने, ‘त्यसैले यसमा केन्द्रले वा अर्को कुनै माथिल्लो समितिले हस्तक्षेप गर्ने कुरा हुँदैन ।’
मोरङमा ८ नगरपालिका, ८ गाउँपालिका र एउटा महानगरसहित जम्मा १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिकासहित कांग्रेसले २०७४ को निर्वाचनमा एक्लै मोरङका नौ वटा स्थानीय तह जितेको थियो ।
जसमध्ये उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो । बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा समाहित भएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छन् ।
कांग्रेसले आफूले जितेका कुनै पनि स्थानीय तहमा तालमेल गर्न नहुने बताइरहेको छ । २०७४ मा एमालेले जितेका ठाउँमा मात्रै भागवण्डा गर्न सकिने कांग्रेस नेताहरुको भनाइ छ । तर, गठबन्धनका अन्य दल त्यस्तो प्रस्ताव स्वीकार्य नहुने बताइरहेका छन् ।
मोरङमा एमालेले २०७४ मा पथरीशनिश्चरे र बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिका जितेको थियो । रंगेली नगरमा माओवादीले जित हासिल गर्दा जहदा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी (हाल जसपा) ले जितेको थियो ।