बिर्तामोड/ अर्जुनधारा नगरपालिकाले पाँच वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय राजनीतिक दल, सञ्चारकर्मी तथा पूर्व जनप्रतिनिधिको उपस्थितिमा नगरले पाँच वर्षे प्रगति विवरण सार्वजनिक गरेको हो ।

‘स्थानीय तहको निर्वाचनपछि तत्काल कानून अभावका कारण काम गर्न समस्या भयो’ नगरप्रमुख हरिकुमार रानाले भने, ‘विस्तारै विस्तारै कानून निर्माण भएपछि नागरिक सेवामा लाग्न सक्यौं ।’ उनले स्थानीय तहको चुनावअघिको अर्जुनधारा र अहिलेको अर्जुनधारामा उल्लेख्य परिवर्तन आएको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

कार्यक्रममा नगर प्रमुख राना, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल र उपप्रमुख कमला आचार्यले नगरको बुलेटिन, राजपत्रसमेत सार्वजनिक गरेका थिए । पाँच वर्षे प्रगति संक्षेपमा बताउँदै उनले १ सय १६ वटा पुल, ३ सय जोर ह्युमपाइप, ३ सय किमी सडक ग्राभेल, नगरको लगानीमा २५ किमी सडक कालोपत्रे गरिएको जानकारी दिए ।

नगर गौरवको आयोजनाको रूपमा रहेको शनिश्चरे बजार व्यवस्थापनको काम धमाधम भइरहेको उनको भनाइ छ । यस्तै, सागसब्जी र माछामासुको पसल व्यवस्थापनका लागि अलग्गै संरचना व्यवस्था गरेको बताए । प्रशासनिक सुविधाका लागि हरेक वडामा नयाँ कार्यालय भवन, आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताइएको छ ।

पहिलो कार्यकालमा कर्मचारी अभावदेखि कार्यालय व्यवस्थापनमा समेत समाधान खोज्दै काम गरेको जनप्रतिनिधिहरूले अनुभव सुनाए । अहिले अधिकांश समस्या समाधान गरेर काम अघि बढाइएको उनले बताए । अब आउने जनप्रतिनिधिले प्राविधिक समस्यामा अल्झिनु नपर्ने अवस्था निर्माण भएको उनको दाबी थियो ।

१५ शय्याको अस्पताल शिलान्यास
अर्जुनधारा नगरपालिकामा १५ शय्याको अस्पतालको शिलान्यास गरिएको छ । अर्जुनधारा–९ मा नगर अस्पताल भवन निर्माण हुने भएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल र अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले नगर अस्पतालको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

१८ करोड लागतमा निर्माण हुने अस्पताल बहुवर्षे योजना हो । अस्पताल शिलान्याससँगै निर्माणको प्रक्रिया सुरु गरिएको मेयर रानाले जानकारी दिए । ंअस्पताल निर्माणका लागि खेम बराल, पारस बराल, कृष्ण बराल र नरेन्द्र बरालले १ बिघा २ कठ्ठा १० धुर जग्गा प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।