धरान । नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले आफू युनियन केन्द्रीय समितिमा स्वभाविक सभापतिको दाबेदार रहेको बताएका छन् । 

आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको हेटौडामा हुन लागेको महाधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी हुने बताए । ‘म स्वभाविक रूपमा सभापतिको दाबेदार हुँ’ सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले भने, ‘म नै हुनुपर्छ भन्ने होइन, तर मेरो नेतृत्व भयो भने सकारात्मक रूपमा विधि, पद्दतिअनुसार अगाडि बढ्नेछु ।’

उनले युनियन जिल्ला शाखाले सुनसरीमा देशकै उत्कृष्ट कार्य गरेको बताए । उनले भने, ‘सुनसरी युनियन देशकै उत्कृष्ट जिल्ला भएको छ, यो तपाईंहरूले मागिरहन पर्दैन, अब उत्कृष्ट हुनका लागि केही काम बाँकी छ जस्तो लाग्दैन ।’ उनले कोरोना कालमा युनियनले गरेको काम र गतिविधिको प्रशंसा गरे । 

युनियन सुनसरीले कोरोना कालमा सुनसरीका पत्रकारहरूको कोरोना बिमा गरिदिएको थियो भने दुर्घटना बिमा समेत गरिदिएको थियो । हाल पनि युनियनले सुनसरीका पत्रकारहरूको दुर्घटना बिमा गरिदिएको छ । युनियन सुनसरीले २४ महिनामा २४ वटा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै कोषाध्यक्ष अधिकारीले धन्यवाद दिए । 

उनले गत पत्रकार महासङ्घको निर्वाचनमा सङ्गठनको हितविपरीत बागी उमेदवार दिनेलाई कारबाही गरिएको र अब जिल्लाले सिफारिस गरेमा कारबाही फुकुवा हुने पनि आश्वासन दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय अमर खड्का, भीषण राई, प्रेस युनियन केन्द्रीय सदस्य हेमराज दाहाल, प्रेस युनियन सुनसरी निवर्तमान अध्यक्ष तथा प्रदेश सचिव धनबहादुर पुरी, कोशी अञ्चल सचिव कृष्ण भट्टराई, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला लगायतले बोलेका थिए ।

उनीहरूले केन्द्रमा आगामी महाधिवेशनबाट पदाधिकारीसहित कार्यसमिति पदमा सुनसरीले पनि नेतृत्व पाउनुपर्ने दाबी गरे । युनियन सुनसरी सभापति पवन अधिकारीले २४ महिनामा २४ वटा गतिविधि गर्न सफल भएको बताए । उनले कोरोना कालमा पत्रकारको बिमा कार्यक्रम, दुर्घटना बिमालगायतका कार्यक्रमहरूबाट युनियन प्रशंसित हुन पाएकोमा धन्यवाद दिए ।