लक्ष्मीमार्ग/ सुन्दरहरैंचा नगरपालिकाले पाँच वर्षे कामको विवरण शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
नगर प्रमुख शिवप्रसाद ढकालले पाँच वर्षमा मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भएका कामहरू उनले सार्वजनिक गरेका छन् ।
उनले आफू नगरप्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह–पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा नभएको दाबी गरे । उनले चुनावमा गरिएका घोषणा–पत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको जानकारी दिए ।
जनप्रतिनिधि आएपछि ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन भएको, ४ वटा वडा कार्यालयको भवन निर्माण भएको, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएको, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास भएको, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालिम केन्द्र निर्माणका लागि पहल गरेको लगायतलाई महत्वपूर्ण उपलब्धिको रूपमा सार्वजनिक गरिएको छ ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउन समन्वय गरेको, सुविधा सम्पन्न कृषिबजार भवन निर्माणका लागि शिलान्यास भएको, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास भएको, इन्द्रपुर रङ्गशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माण हुँदै गरेको, सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याएको जस्ता महत्वपूर्ण काम गत ५ वर्षमा भएको नगरप्रमुख ढकालले दाबी गरे ।
कोभिड सङ्क्रमणको महामारीको समयमा सङ्क्रमितलाई घरमै औषधि पु¥याउन सक्नु, अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिनुजस्ता महत्वपूर्ण काम गरेको उनले बताए । हालसम्म नगरमा १ लाख ७७ हजार २ सय ४२ डोज कोभिडविरुद्धको खोप आएको र सो खोप नगरवासीलाई लगाइसकिएको पनि उनले जानकारी दिए ।
पछिल्लो ५ वर्षको अवधिमा १ सय ७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १ सय ५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको उनले जानकारी दिए । पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विषयमा भएका उपलब्धि मेयर ढकालले सो अवसरमा सार्वजनिक गरेका थिए ।