विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखको लागि नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपप्रमुखमा शिल्पा निरला कार्कीलाई उठाएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले थापालाई महानगरप्रमुख र कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बुवा चन्द्रबहादुर र आमा कमला थापाको कोखबाट २०३३ साउन ३ गते सागर थापाको जन्म भएको हो । विराटनगर – ४ जामुनगाछी घर भएका थापा स्कुले जीवनदेखि नै विद्यार्थीको हकहितको आवाज उठाउँदै अनेरा स्ववियुमा आवद्ध भएका थिए । उनीको राजनैतिक यात्रा विद्यार्थीबाट भएको हो ।
२०४६ सालबाट विद्यार्थीबाट राजनैतिक आरम्भ गरेका हुन् । स्नातकोत्तर गरेका थापा दुई पटक स्ववियूू सभापति भए । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा २०५७ देखि ०६० र २०६० देखि २०६२ सम्म स्ववियू सभापतिभए । विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय थापा विद्यार्थीकाल देखि नै जुझारू कार्यकर्ताको पहिचान बनाएका थिए ।
नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष भइ लगातार १२ वर्षदेखि विराटनगर महानगरको नेतृत्वमा थापाले गरेका छन् । शाहि शासनकालमा आन्दोलन गरिरहँदा पक्राउ परि २८ दिन जेल जीवन पनि उनले बिताएका थिए ।

अघिल्लो स्थानीयतहको निर्वाचनमा पनि महानगर प्रमुखको उम्मेदवार बन्ने दौडमा रहेकै अवस्थामा एमालेले थापाकोे नाम हटाएर बिनोद ढकाललाई महानगर प्रमुखको उम्मेदवार बनाएको थियो। २०७४ सालमा ढकाल काँग्रेसका भिम पराजुलीसँग पराजित भएका थिए ।
यसपटक भने विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाउन सफल भएका हुन् ।
उपप्रमुख उम्मेदवार कार्की फेशन डिजाइन पनि हुन् । बुवा स्व. गोपाल बहादुर निरला र आमा रीता निरलाको कोखबाट २०३५ मंसिर १४ गते लाहान शिल्पाको जन्म भएको हो । फेशन डिजाइनर समेत रहेकी शिल्पा २०६० सालदेखि राजनैतिकमा आवद्ध भएकी हुन् ।
उनले बिवाह गरेपछि राजनैतिकमा होमिएकी हुन् । उनी नेकपा एमाले विराटनगर महानगरको उपाध्यक्ष रहेकी छिन् । फेसन डिजाइनमा डिप्लोमा गरेकी शिल्पाको विराटनगर ९ मेनरोडमो क्रिएभिड ह्यान्डस बुटिक रहेको छ । उनले अंग्रेजीमा स्नातकोत्तर उतिर्ण गरेकी छिन् ।
यस पटकको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट महानगर प्रमुख काँग्रेस र उपप्रमुख जसपाको भागमा परेको छ । काँग्रेसले सोमबार विहानसम्म विराटनगर महानगरको प्रमुखको उम्मेदवारी टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् । जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको छ ।