धरान । २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्ष पद जितेका धरान–१४ का कृष्ण भट्टराईले पार्टी परित्याग गरेपछि काङ्ग्रेसलाई एक खाल्को झट्का लागेको छ । 

भट्टराईले पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानमा उनले राप्रपाबाट वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

काङ्ग्रेसले उनीसहित अन्यलाई वडाध्यक्षका लागि सिफारिस गरेको थियो । तर, अर्कैलाई वडाध्यक्षको टिकट दिएपछि उनले पार्टी परित्याग गर्दै राप्रपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका हुन् । 

राप्रपाले अहिले हिन्दू राष्ट्रको मुद्दा बोकेर अगाडि बढेको छ । वडाध्यक्ष पदबाट चुनाव जितेका व्यक्तिले पार्टी छाड्दा एक खाल्को दबाव पर्ने एक स्थानीय नेताले बताए । अध्यक्ष भट्टराईले नगर कार्यपालिका अध्यक्षलाई राजीनामा बुझाउँदै वडाध्यक्ष पदका लागि दर्ता गराएका छन् । 

मनोनयन दर्ताका लागि पुगेका उनले भने, ‘काङ्ग्रेस परित्याग गरियो, राप्रपाबाट टिकट लिएर अहिले मनोनयन दर्ता गराएँ ।’