विराटनगर । मोरङ विराटनगर–७ स्थित आदर्श स्कुलभित्र मतगणना जारी छ । बाहिर मत परिणाम सुन्ने नेता कार्यकर्तादेखि सर्वसाधारणहरूको सडकमा भीडभाड लागेको छ ।
सडकछेउमा अबेर रातिसम्म पनि भीडभाड हुने गरेको छ । दिनभरि सडकछेउमा बसेर मतपरिणाम सुन्ने कार्यकर्ता र सर्वसाधारणहरू राति भने सडकपेटीमै घरबाट सिरक र डस्ना लिएर मत परिणाम सुन्न मतगणनास्थलबाहिर बस्ने गरेका छन् । मोरङको क्षेत्र नं. ५ मा पर्ने जहदा गाउँपालिका–४ नम्बर वडा घर भएका राजकुमार मण्डल गनगाईं ५ मङ्सिरदेखि मतगणनास्थलबाहिर मत परिणाम सुन्न नियमित आउने गरेको बताए ।
‘आफूले दिएको मत सदुपयोग भयो कि भएन भनेर मत परिणाम सुन्न मतगणनास्थलमा आउने गरेको छु’ उनले भने, ‘जहदाबाट हामी युवाहरूको समूह नै राति परिणाम सुन्नलाई सिरक र डस्ना पनि लिएरसँगै आएका छौं ।’
यसरी मत परिणाम सुन्न आएको तीन दिन भएको उनले बताए । मत परिणाम सार्वजनिक गर्न माइकको व्यवस्था छ । प्रत्येक वडाको गणना सम्पन्न गरेपछि परिणाम निर्वाचन कार्यालयले सुनाउने गरेको छ । मतपरिणाम सुन्न गाउँ–गाउँबाट सबै दलका कार्यकर्ता तथा सर्वसाधारणहरू चासो राखेर आउने गरेका छन् । मतगणनास्थलमा धर्ना दिएजस्तै दिनभरि मत परिणाम सुन्नका लागि उपस्थित हुने गरेका छन् ।
‘यसपटक कसले जित्ला, हार्ला भन्ने चासो रहेको छ । कसले जित्ने हो ? चासो रहेपछि हामी मतगणनास्थलमा आएका हौं’ जहदा–४ का बिजेन्द्र मुर्मूले भने, ‘आमजनताको प्रतिक्रिया पनि यस्तै छ ।’ मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उठेका योगेन्द्र मण्डलको समर्थनमा मण्डलससहित ठूलो सङ्ख्यामा युवाहरू मतगणनास्थलबाहिर सडकमा बस्ने गरेका छन् ।
मण्डलले अहिले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवलाई फराकिलो मतान्तरले पछि पार्दै अगाडि छन् । आदर्श स्कुलमा मोरङको क्षेत्र नंं. ४, ५ र ६ निर्वाचन क्षेत्रको गणना भइरहेको छ । अहिले प्रदेशसभातर्फको अन्तिम मत परिणाम धमाधम आइरहेको छ ।