सुनसरी । सुनसरीबाट चालु आर्थिक वर्ष २०७९/०८० सालको पुस मसान्तसम्ममा दुई करोड २१ लाख ९७ हजार ३ सय ८ रुपैयाँ बराबरको सामान भन्सार दाखिला भएको छ ।

भारतीय बजारबाट चोरीपैठारीसहित अवैधानिक तवरबाट ल्याइएका दुई करोड २१ लाख ९७ हजार ३ सय ८ रुपैयाँ बराबरका विभिन्न सामान भन्सार दाखिला भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेका हुन् ।

भारतीय बजारबाट अवैधानिक तवरबाट चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सुनसरीका विभिन्न स्थानबाट गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा २ सय ६२ मुद्दामा जम्मा दुई करोड २१ लाख ९७ हजार ३ सय ८ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो । जसअनुसार अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी नेपाल प्रहरीले सामान बरामद गरेको देखिन्छ ।

पुस मसान्तसम्म नेपाल प्रहरीले ५२ वटा मुद्दामा एक करोड ३७ लाख ५७ हजार ८ सय ९० रुपैयाँ बराबरको सामान सुनसरी भन्सार कार्यालयमा दाखिला गरेको छ भने सशस्त्र प्रहरीले १ सय २२ वटा मुद्दामा ७८ लाख ३८ हजार १ सय ८३ रुपैयाँ बराबरको सामान दाखिला गरेको देखिन्छ । यस्तै सुनसरी भन्सार कार्यालयबाट खटिएको गस्ती टोलीले २७ वटा मुद्दामा ६ लाख १ हजार २ सय ३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

२५ लाख बढी राजस्व असुली
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका दुई करोड २१ लाख ९७ हजार ३ सय ८ रुपैयाँ बराबरको सामान भन्सार दाखिला गरेकोमा २५ लाख बढी राजस्व असुली भएको पाइएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ सालबाट जिम्मेवारी सरी आएका मुद्दा सङ्ख्या ६१ वटासहित चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा दाखिला भएका २ सय १ गरी जम्मा २ सय ६२ मध्ये पुस मसान्तसम्ममा १ सय ७९ वटा मुद्दाको निर्णय भएको सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजको मुद्दा शाखाले जानकारी गराएको छ  ।

८३ वटा मुद्दा भने अझै निर्णय हुन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट सुरक्षाकर्मी र भन्सार कर्मचारीको गस्ती टोलीले बरामद गरेकामध्ये खाद्यान्न सामग्री, तरकारी, पशु चौपायालगायत म्याद नाघ्ने वा सड्ने सामान आफूहरूले तत्कालै लिलाम गरे पनि खासगरी सवारीसाधन प्राविधिक मूल्याङ्कनअनुसार लिलाम गर्नुपर्ने भएकोले प्रतिवेदन मूल्यअनुसार राजस्व असुल नभएको देखिएको सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका निमित्त प्रमुख भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।