यासोक । पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी प्रथम तुम्बेवा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको पहिलो दिनको दुई खेलमा आयोजक तुम्बेवा गाउँपालिका र राजघाट स्पोर्टिङ क्लब उर्लाबारी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार तुम्बेवा गाउँपालिकाको इन्द्राणी मा.वि.को खेलमैदानमा भएको पहिलो खेलमा आयोजक तुम्बेवाले बूढासुब्बा क्लब धनकुटालाई १–० गोलअन्तरले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा तुम्बेवाका सोम लावतीले गरेको गोल नै निर्णायक बन्यो । योसँगै आयोजक तुम्बेवा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी तुम्बेवाका सोम लावती घोषित हुँदै नगद, मेडल र प्रमाण–पत्र प्राप्त गरे ।
त्यस्तै दास्रो खेलमा योङ ब्वाइज क्लब सुनसरी धरानलाई ३–१ को अन्तरले हराउँदै राजघाट स्पोर्टिङ क्लब उर्लाबारी मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा राजघाट स्पोर्टिङले दुई गोल गरेको थियो भने दोस्रो हाफमा १ गोल गर्दै ३ गोल बनाएको थियो । धरानले दोस्रो हाफमा १ गोल गरेको थियो । योसँगै राजघाट क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी राजघाटका बुद्ध तामाङ घोषित हुँदै नगद, मेडल र प्रमाण–पत्र प्राप्त गरे ।
प्रतियोगिताको प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ । त्यस्तै तेस्रो हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता अन्तर्गत आज (मङ्गलबार) बिहान ८ बजे हुने पहिलो खेलमा कुम्मायक गाउँपालिका र केवाईसी क्लब भिड्नेछन् । तुम्बेवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता चैत ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।