धरान । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ पाँचवर्षे कार्यकाल पूरा गरी यही कात्तिक २४ गते पदबाट बिदा हुँदैछन् । सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारसँगै प्रदेश प्रमुखहरू पनि पटक-पटक फेरिने राजनीतिक अस्थिरताबीच खापुङ पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बनेका छन् ।
२०७८ कात्तिक २३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका खापुङले आफ्नो कार्यकालमा छ पटक सङ्घीय सरकारको नेतृत्व परिवर्तन र चार पटक सत्ता गठबन्धन फेरिँदासमेत पदमा निरन्तरता पाउन सफल भए । पछिल्लो जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र त्यसपछिका राजनीतिक परिवर्तन भई बालेन्द्र साह नेतृत्वको सरकार हुँदा पनि उनी पदमै कायम रहे ।
आइतबार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर खापुङसँग बिदाइ भेट गरेका छन् । सो अवसरमा मुख्यमन्त्री कार्कीले खापुङको योगदानप्रति आभार व्यक्त गरे ।
संविधानको धारा १६३ अनुसार राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुने व्यवस्था छ । तर, सरकार र सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश प्रमुख फेरिने अभ्यासका कारण धेरैले आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । खापुङलाई भने उनलाई नियुक्त गर्ने जनता समाजवादी पार्टी नेपालको (जसपा) राजनीतिक अवस्थाले पटक-पटक पदमा टिकिरहन सहयोग पुर्यायो ।
तत्कालीन जसपा अध्यक्ष उपेन्द्र यादवको पहलमा नियुक्त भएका खापुङका लागि २०७९ को निर्वाचनअघि पार्टीले एमालेसँग चुनावी सहकार्य गरेपछि पद जोखिममा परेको थियो । तर, निर्वाचन आचारसंहिता लागू भइसकेका कारण उनी पदमुक्त हुनबाट जोगिए । निर्वाचनपछि जसपा पुनः सरकारमा सहभागी भएपछि उनको पद सुरक्षित भयो ।
माओवादी-काङ्ग्रेस सहकार्य, माओवादी-एमाले गठबन्धन र पुनः काङ्ग्रेस-एमाले गठबन्धन बन्दा पनि जसपा सरकारको समर्थनमा रहँदै आयो । २०८१ मा जसपा विभाजन भएर उपेन्द्र यादव र अशोक राई नेतृत्वका दुई दल बनेपछि पनि खापुङले दुवै पक्षसँग सन्तुलित सम्बन्ध कायम राखेका कारण उनको पद सुरक्षित रह्यो । यही कारण पार्टी विभाजनपछि पनि उनको पदमाथि राजनीतिक हस्तक्षेप भएन ।
२००९ सालमा तेह्रथुमको मेन्छ्यायेम-५ मा जन्मिएका खापुङ राजनीतिमा प्रवेश गर्नुअघि शिक्षक थिए । उनले तीन वर्ष पोखरी माध्यमिक विद्यालय आठराईमा अध्यापन गरे भने २०३४ देखि २०४२ सम्म गौखुरी माध्यमिक विद्यालय मोराहाङका प्रधानाध्यापक बने । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यसमेत भएका उनी विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । सोही क्रममा उनी छ महिना जेलसमेत परेका थिए ।
२०४३ सालमा तेह्रथुमबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका खापुङ २०४६ सालको जनआन्दोलनका बेला खानेपानी सहायकमन्त्री बने । उनले केही समय वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीसमेत सम्हाले । पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएका उनी उपेन्द्र यादवसँग पार्टी एकतापछि समाजवादी राजनीतिमा पुगे ।
विभिन्न राजनीतिक उतारचढाव पार गर्दै प्रदेश प्रमुख बनेका खापुङ अब पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुखका रूपमा पदबाट बिदा हुँदैछन् ।

































