विजयपुर। सुनसरी प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका लत्ता कपडा बरामद गरेको छ।
जिल्लाका विभिन्न प्रहरी इकाईबाट खटिएको टोलीले छुट्टाछुट्टै स्थानबाट चेकजाँचका क्रममा ३ लाख ७१ हजार ६ सय रुपैयाँ बराबरका कपडा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ वैशाख ५ गते ५० हजार रुपैयाँ मूल्य बराबरका कपडा बरामद गरिएको थियो। वैशाख ७ गते इलाका प्रहरी कार्यालय दुहवीले २ लाख ११ हजार ५ सय रुपैयाँ बराबरका कपडा नियन्त्रणमा लिएको थियो। वैशाख ८ गते इलाका प्रहरी कार्यालय देवानगंजबाट ३३ हजार ५ सय र सोही दिन सीआरभी सोनापुरबाट ७६ हजार ६ सय रुपैयाँ बराबरका लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।