इलाम । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले परम्परागत अन्नबालीको विकल्पमा रुद्राक्ष खेतीलाई आम्दानीको स्रोत बनाएका छन्। करिब १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका जवेगूले यसबाट वार्षिक रु २ लाख आम्दानी गर्दै आएका छन्।
जवेगूले १८ रोपनी क्षेत्रमा ३०० वटा रुद्राक्षका बोट लगाएका छन्। उनले विसं २०७३ मा सङ्खुवासभाको कुस्वाबेँसीबाट प्रतिगोटा रु २०० का दरले रुद्राक्षका बिरुवा खरिद गरी खेतीयोग्य जमिनमा रोपेका थिए। रोपेको चार वर्षपछि सबै बोटले उत्पादन दिन थालेका हुन्।
“कुस्वाबेँसीबाट प्रतिगोटा रु २०० का दरले ३०० वटा रुद्राक्षका बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको हुँ,” उनले भने, “चार वर्षपछि उत्पादन सुरु भयो। विसं २०७७ देखि बर्सेनि रु २ लाख कमाइ भइरहेको छ।”
अन्य अन्नबालीको तुलनामा रुद्राक्ष खेतीमा नियमित श्रम र लगानी कम लाग्ने भएकाले आम्दानी बचत हुने गरेको जवेगूको भनाइ छ। उनका अनुसार सुरुमा बिरुवा खरिद, खाडल निर्माण, मल र सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्किएपछि नियमित खर्च कम हुन्छ।
“अन्य अन्नबालीमा हरेक वर्ष लगानी र श्रम गर्नुपर्छ। रुद्राक्ष भने एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ,” उनले भने। जवेगूका अनुसार उत्पादित रुद्राक्ष बिक्रीका लागि बजारको समस्या छैन। सङ्खुवासभाका व्यापारीले बोटबाटै वार्षिक रु २ लाख दिने गरी ठेक्का सम्झौता गरेर रुद्राक्ष लैजाने गरेका छन्।
“रुद्राक्ष बिक्रीका लागि मैले केही गर्नुपर्दैन। उत्पादन भएपछि उहाँहरू आफैँ आउनुहुन्छ। दाना हेरेर आवश्यक पर्ने जति छानेर लैजानुहुन्छ,” उनले भने, “ठेक्का सम्झौताअनुसार मूल्य दिने गर्नुभएको छ।” विगतमा मकै, कोदो लगायतका अन्नबाली खेती गर्दै आएका जवेगूले रुद्राक्षबाट कम मेहनतमै तुलनात्मक रूपमा बढी आम्दानी गर्न सकिने बताए। रुद्राक्षबाट हुने नियमित आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाइ छ।
“पहिले कडा मेहनत गर्दा पनि अन्नबालीबाट घरखर्च चलाउन मुस्किल भयो,” उनले भने, “अहिले बर्सेनि नियमित आम्दानी भइरहेको छ। यसले जीविकोपार्जन सहज भएको छ।”
रुद्राक्ष खेतीबाट नियमित आम्दानी हुन थालेपछि जवेगूले आगामी दिनमा खेती विस्तार गर्ने योजना बनाएका छन्। उनले आगामी वर्ष थप जमिनमा रुद्राक्ष रोप्ने तयारी गरेका छन्। गाउँका अन्य किसानलाई पनि रुद्राक्ष खेतीका विषयमा जानकारी तथा सल्लाह दिँदै आएको उनले बताए।
माङसेबुङमा जवेगूले व्यावसायिक रूपमा रुद्राक्ष खेती सुरु गरेपछि अन्य किसानले पनि परीक्षणका रूपमा थोरै क्षेत्रफलमा रुद्राक्ष रोप्न थालेका छन्। स्थानीयस्तरमा प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा र बजार व्यवस्थापनमा ध्यान दिन सके रुद्राक्ष खेतीलाई व्यावसायिक बनाउन सकिने जवेगूको भनाइ छ।
उनका अनुसार रुद्राक्षका सबै दानाको मूल्य समान हुँदैन। स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गर्छन्। “रुद्राक्षबाट गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त गर्न सकिन्छ। सबै दानाको मूल्य एउटै हुँदैन,” उनले भने।
रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ। दानाको मुखअनुसार यसको मूल्य फरक पर्ने किसान जवेगूले बताए। उनका अनुसार सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्ष मानिन्छ।
“व्यापारीका अनुसार रुद्राक्षको मुखको सङ्ख्या जति धेरै हुन्छ, त्यति दुर्लभ र मूल्यवान मानिन्छ। त्यसअनुसार बजार मूल्य पनि उच्च हुन्छ,” उनले भने। रुद्राक्षका दाना धार्मिक तथा सांस्कृतिक प्रयोजनका साथै माला, गहना र विभिन्न सामग्री बनाउन प्रयोग हुने भएकाले यसको माग रहेको जवेगूको बुझाइ छ। धार्मिक तथा आध्यात्मिक महत्त्वका कारण स्वदेशमा मात्र नभई विदेशमा समेत रुद्राक्षको माग रहेको व्यवसायीहरू बताउँछन्।
विज्ञहरूका अनुसार रुद्राक्ष समुद्री सतहबाट करिब एक हजार ८०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ। मट्याइलो, पारिलो तथा घमाइलो जमिन यसको खेतीका लागि उपयुक्त मानिन्छ। वर्षायाम अर्थात् असारदेखि असोजसम्म बिरुवा रोप्न उपयुक्त हुने र बिरुवाबीच करिब १० मिटरको दूरी कायम गर्नुपर्ने बताइन्छ। तराईदेखि मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने रुद्राक्ष फल दिन थालेपछि दशकौँसम्म उत्पादन दिने नगदे बालीका रूपमा लिइन्छ। रासस