सुनसरी । उमेरले ८० वर्ष पुगे पनि इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको व्यवस्थित र आकर्षक सुपारी बगानले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ ।
लहरै मिलाएर रोपिएका सुपारीका बोट, सफा बगान र प्रत्येक बोटको फेदमा लगाइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आएको कार्कीले १५ वर्षअघि रहरले सुरु गरेको सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।
पुख्र्यौली घर तेह्रथुम भए पनि उनको परिवार बसाइँ सरेर सुनसरी आएको थियो । उनले धरानमा प्रवेशिकासम्म अध्ययन गरेका थिए । “लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन । खेतीकिसानी गरियो, धान, मकै लगाइयो”, कार्कीले भने ।
झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारीखेती देखेपछि आफूलाई पनि खेती गर्ने रहर जागेको उनले बताए । “त्यहाँ काकाको सुपारीखेती देखेँ । अन्य किसानले गरेको खेती देखेर प्रेरित भएँ”, उनले भने ।
आजभन्दा १५ वर्षअघि उनले १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेका थिए । चार–पाँच वर्षपछि बिरुवाले फल दिन थाले । त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै खेती विस्तार गरे । अहिले डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन् । सुरुमा रोपिएका बोटले हरेक वर्ष फल दिँदै आएका छन् भने बाँकी बिरुवा हुर्किरहेका छन् । सुरुमा रोपिएका बोटबाट उनले वार्षिक एक लाख रुपैयाँभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आएका छन् ।
“यहाँका सबै बिरुवाले एक–दुई वर्षभित्र फल दिन थाल्छन् । रहरले सुरु गरेको व्यवसाय राम्रो भएको छ । खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ”, उनले भने ।
सुनसरीमा पनि सुपारीखेती हुन्छ भन्ने जानकारी धेरैलाई नभएको कार्की बताउँछन् । पानी नजम्ने जमिनमा जुनसुकै ठाउँमा पनि सुपारीखेती गर्न सकिने उनको भनाइ छ । सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उनले बताए ।
हरेक वर्ष व्यापारी आफैँ बगानमा आएर बारी ठेक्कामा लिन्छन् । सुपारी पाकेपछि उनीहरू आफैँ आएर टिपेर लैजान्छन् । कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी ७० रुपैयाँका दरले थोरैथोरै बिक्री गर्ने गरेको उनले बताए । “प्रायः व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्”, उनले भने ।
सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उनको अनुभव छ । वर्षमा एकपटक मल लगाउनुपर्छ । सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उनले बताए । चुन र मललगायत खेतीमा वार्षिक करिब २० हजार रुपैयाँ खर्च हुने गरेको कार्कीले जानकारी दिए ।
धान र मकैखेतीको तुलनामा सुपारीखेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । “एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि एक लाख रुपैयाँ आम्दानी गर्न सकिँदैन । सुपारीखेतीबाट भने राम्रो आम्दानी हुन्छ”, उनले भने ।
बगानको रेखदेखका लागि उनले तलब दिएर एक जना कामदार राखेका छन् । बाँकी काममा उनलाई श्रीमती डम्बरकुमारी कार्कीले सहयोग गर्छिन् । सुपारीखेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए ।
सुपारीखेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवालाई यसतर्फ लाग्न सुझाव दिए । “व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ । धेरै मेहनत पनि गर्नुपर्दैन”, उनले भने ।
कार्कीलाई आफ्नो बगानमा काम गर्न अझै उत्तिकै जाँगर चल्छ । सुपारीखेती उनका लागि आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधारसमेत बनेको छ । “साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ”, उनले भने । रासस
































