खोटाङ । खोटाङको दुई सामुदायिक वन क्षेत्रमा साल (सखुवा) का रुख अवैधरूपमा ढालेर कटान गरेको भेटिएको छ ।
खाल्ले र लफ्याङका दुईवटा सामुदायिक वनक्षेत्रमा करिब १ सयवटा सालका रुख अवैधरूपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वनक्षेत्रमा करिब ३० वटा सालका रुख काटेको भेटिएको छ । चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेलले सामुदायिक वनक्षेत्रमा सालका रुख कटान गरेको पाइएको जानकारी दिए ।
सालका रुख अवैधरूपमा ढाल्नमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष पौडेलले जानकारी दिए । सामुदायिक वनमा भएको अवैधरूपमा सालका रुख कटानका घटनाको वास्तविकता पत्ता लगाउन चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको जनाइएको छ । उपभोक्ता समितिले वनक्षेत्रमा रहेका सालका रुख ढालेको अवस्थाबारे अनुगमन गरी घटनाको तथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।
सामुदायिक वनक्षेत्रमा यसरी ठूलो सङ्ख्यामा रुख काटिँदा समेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियमन हुन नसकेको स्थानीय गोपाल श्रेष्ठले बताए । सव-डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले सामुदायिक वन क्षेत्रमा भएको सालका रुख कटानको घटनामा स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण सङ्कलन गरिने बताए ।
नेपालमा साल पर्यावरण र आर्थिक दृष्टिकोणले नेपालको संरक्षित र प्रतिबन्धित वन पैदावारअन्तर्गत पर्छ । नेपालको वन ऐन, २०७६ अन्तर्गत सालको रुख अवैधरूपमा कटानलाई गम्भीर अपराध मानिन्छ ।
वन ऐन बमोजिम विना अनुमति सालका रुख कटान वा नोक्सान पुर्याएमा कडा कानुनी कारबाही र सजाय हुन्छ । सालको रुख काटेर वनक्षेत्र फँडानी गर्ने, खनजोत गर्ने वा घर/टहरो बनाएको पुष्टि भएमा अधिकतम् पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाखसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । (रासस)

































