हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा डेंगू रोगी देखेका छौँ । अहिले आईसीयुमा राखिएका एक बालकमा पनि डेंगू सक सिन्ड्रोम भएको शंका गरिएको छ । उनको उपचार हुँदैछ । आजभोलि नेपालमा विभिन्न स्थानमा डेंगूरोगी देखिन थालेका छन् । बदलिँदो मौसमसँगै तराईका धेरैजसो स्थान (जस्तैः जनकपुर, सिरहा, राजविराज, वीरगञ्ज, भरतपुर, विराटनगर, धरान, दमक आदि) मा लामखुट्टेको प्रभाव बढ्दै गइरहेको छ । बीपी प्रतिष्ठानमा पनि डेंगूरोगी बढ्दै गएको छ ।भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । डेंगू दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । यीमध्ये करीब दश हजारदेखि बीस हजार मानिसहरूको मृत्यु हुने गरेको छ । डेङ्गीको महामारीका बारेमा सन् १७७९ लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेको निर्मुल पार्न असम्भवजस्तै भएकाले सिधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूका बारेमा पनि अध्ययन भइरहेको छ । केही देशमा डेङ्गीको सङ्क्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ । नेपालमा पनि सोन्फी कम्पनीको खोप पाइन्छ तर त्यसलाई आधिकारिक मान्यता दिइएको छैन ।
डेंगू ज्वरो भनेको के हो ?
यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस चार प्रकारका हुन्छन् । डेंगू भाइरस–१, २, ३ र ४ । एक खालको भाइरसको सङ्क्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात् एकपटकको सङ्क्रमणपछि जीवनभरि ‘इम्युनिटी’ (प्रतिरोधी क्षमता) हुन्छ तर अन्य प्रकारका डेंगू भाइरसको सङ्क्रमणबाट भने केही समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ ।
डेंगू ज्वरोका तीन अवस्थाहरु हुन्छन्–
१. साधारण डेंगू ज्वरो
२. डेंगू हेमोरेजिक ज्वरो
३. डेंगू सक सिन्ड्रोम
हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगू ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगू हेमोरेजिक ज्वरो वा डेंगू सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुन सक्छ ।डेंगू रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ ।डेंगू सङ्क्रमित लामखुट्टेले दिउँसो मात्र टोक्छ र खास गरी वर्षात्को मौसममा डेंगूको प्रकोपमा बढ्ने हुँदा घरआँगन, वरपर सरफाइमा ध्यान दिन, कुनै ठाउँमा पानी जम्न नदिन र पानीलाई ढाकछोप समेत गर्न आवश्यक रहेको डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन सक्छ । डेङ्गी लागेको बेलामा इबुप्रोफिनजस्ता नन्स्टेरोइडल एन्टीइन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन । चिकित्सकीय सल्लाह समयमा लिनुपर्छ ।
(लेखक धरानको बीपी प्रतिष्ठानमा कार्यरत् चिकित्सक हुन् ।)