[caption id="attachment_3547" align="alignnone" width="1024"]clz                                                                                                                                                                               फाइल तस्विर[/caption]

धरान/ तीनकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीले क्याम्पस प्रशासनविरुद्ध आन्दोलन थालेका छन् । छात्रावासमा बसेका अनेरास्ववियुका विद्यार्थीले विभिन्न माग राखी क्याम्पस प्रशासनविरुद्ध आन्दोलन थालेका हुन् । पटक–पटक राखेका मागप्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै छात्रावासमा बस्ने अनेरास्ववियुका विद्यार्थी सोमबार हस्ताक्षरसहितको माग लिएर क्याम्पस प्रमुख जितेन्द्र चौधरीको कार्यकक्षमा पुगेका थिए । विज्ञान तथा मानविकी सङ्कायका विभाग प्रमुखहरुको तत्काल नियुक्त गरी पठनपाठन सहज बनाउनु पर्ने उनीहरूको पहिलो माग छ । उनीहरूले दराज लगायत खानेपानीको सुविधा तत्काल हुनुपर्ने माग पनि राखेका छन् । शैक्षिक सत्र सुरु भएको दुई महिना बित्नलाग्दा पनि विभागीय प्रमुखहरुको अभावले पढाइ ठप्प रहेको अनेरास्ववियु इकाइ कमिटीका सदस्य अनिल कँडेलले बताए । क्याम्पस प्रमुख चौधरीलाई मागबारे बारम्बार जानकारी गराउँदा समेत बेवास्ता गर्ने गरेको विद्यार्थीहरूको आरोप छ । सामान्यभन्दा सामान्य मागमा समेत बेवास्ता गर्ने गरेको छात्रावासमा बस्ने विद्यार्थीहरूको आरोप छ । यसअघि पनि क्याम्पसका एमाले र एमाओवादीनिकट प्राध्यापक सङ्घले जेठ १२ गतेबाट क्याम्पस प्रमुख चौधरीको राजीनामा माग्दै आन्दोलन थालेका थिए । उक्त आन्दोलनमा विभागीय प्रमुखहरुको नियुक्ति, क्याम्पस प्रमुख चौधरीको मोनोपोलीको विषयलाई लिएर साङ्केतिक रूपमा हातमा कालोपट्टी बाँधेर आन्दोलन थालेका थिए । तर, भर्खरै केही माग पूरा भएपछि आन्दोलन सकिएको छ । तर विद्यार्थीले पनि क्याम्पस प्रमुखमाथि मोनोपोलीको आरोप लगाउँदै आन्दोलनलाई अघि बढाएका छन् । विद्यार्थीका माग जायज भए पनि सुनुवाइ नहुँदा बारम्बार आन्दोलन गर्नु परेको क्याम्पस इकाई कमिटीका अध्यक्ष सपन थापा मगरले बताए । ‘हाम्रो कुरा जति गरेपनि सुनुवाइ नै हुँदैन’, उनले भने, ‘त्यसैले बाध्य भएर ६ सयभन्दा बढी विद्यार्थीको हस्ताक्षर गरी क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराएका हौँ ।’ यसअघि विद्यार्थीहरूले चर्पी लगायतमा सरसफाइ नभएको भन्दै साङ्केतिक रूपमा फोहोर नै ल्याएर क्याम्पस प्रमुख चौधरीलाई बुझाएका थिए । त्यसमा समेत कुनै सुनुवाइ भएको थिएन । क्याम्पसमा खानेपानीको अभाव, फोहोरमा हेलचेक्राइँ,  इन्टरनेट, दराज लगायत सुविधा नभएको भन्दै विद्यार्थीले प्रमुखलाई दबाब दिएका हुन् । विद्यार्थीले कहिलेसम्म काम हुन्छ भन्दै टेबल ठोकेका थिए । लगत्तै अनेरास्ववियु र काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले समेत ध्यानाकर्षण पत्र बुझाएका थिए । अनेरास्ववियुका विद्यार्थीहरूले मागको दोस्रो बुँदामा हरेक वर्ष विवाद बन्ने गरेको शैक्षिक भ्रमण तालिकालाई यथाशिघ्र प्रकाशन गरिनु पर्ने माग राखेका छन् । यस्तै पुस्तकालय व्यवस्थापनमा देखिएको असहजतालाई समाधान गर्नुपर्ने, नयाँ सेमेष्टरको लागि आवश्यक पुस्तक तत्काल व्यवस्थापन गर्नुपर्ने, क्याम्पस परिसरको शौचालय दुर्गन्धित भएकोले व्यवस्थापन गर्नुपर्ने लगायतका पूरा गर्न सकिने मागहरू राखेका छन् । उनीहरूले माग सुनुवाइ नगरे धर्नालगायत क्याम्पस प्रशासन ठप्प पार्नेसम्मको चेतावनी दिएका छन् । ‘मागहरू सुनुवाइ नगरेमा धर्नालगायत प्रशासन ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ’, सदस्य कँडेलले भने । यता क्याम्पस प्रमुख चौधरीले छात्रावासका विद्यार्थीको केही माग सुनुवाइ गर्नसक्ने र केही माग यसै आर्थिक वर्षमा पूरा गर्न नसक्ने बताए । पानीको विषय पूरा गर्नसक्ने भए पनि दराज लगायतको मागलाई तत्कालै आर्थिक स्रोत नभएकाले पूरा गर्न नसक्ने बताए । ‘अर्को आर्थिक वर्षभन्दा अघि गर्नै सकिँदैन’, उनले विद्यार्थीलाई भनेका थिए । अनेरास्ववियु विद्यार्थीहरूको माग आपूसामु केही दिनअघि पनि आएको र सोमबार कुनै पनि ज्ञापनपत्र ध्यानाकर्षण पत्र नआएको प्रमुख चौधरीले बताए ।