पाँचथर / आउँदो बर्षे बिदा पछि नेपालमै पहिलोपल्ट पाँचथरमा लिम्बू भाषा आधारभूत तह अन्तर्गत कक्षा ६–८ मा लिम्बू भाषा पठन–पाठन हुने भएको छ । सो को लागि पाठ्यक्रम निर्माणको काम सुरु गरिएको पाठ्यक्रम समन्वय समितिका सदस्य तथा भाषाविद हरि चन्द्र लावतीले बताए । केही दिन अघि लिम्बू विद्यार्थी मञ्चले जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष जिशिअ राज कुमार विश्वकर्मा समक्ष पाठ्यक्र निर्माणको लागि समन्वय गर्न आग्रह गरेको थियो । त्यसपछि पाठ्यक्रम निर्माणको लागि भाषाविद हरि चन्द्र लावतीको संयोजकत्वमा विज्ञ सम्मिलित कार्यदल बनेको थियो । सोही कार्यदलले पाठ्यक्रम निर्माणको प्रारम्भिक काम सुरु गरेको हो । कार्यदलमा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगु, भाषाविद दीलेन्द्र सुब्बा, मलिशा याक्थुङबा, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरल र स्रोत व्यक्ति गजाधर ढुंगाना सदस्य रहेका छन् । संविधानले दिएको अधिकारलाई उपयोग गर्दै समिति समक्ष पाठ्यक्र निर्माण गर्न आग्रह गरिएको थियो । संयोजक लावतीका अनुसार आउँदो वर्षे बिदा पछि लिम्बू जातिको बाहूल्यता भएको विद्यालयहरुमा पठन–पाठन गर्ने गरी पाठ्यक्रम निर्माण गरिनेछ । नेपालमै पहिलोपल्ट निर्माण हुन लागेको सो पाठ्यक्रमलाई अन्य जिल्लाहरुमा समेत लागु गर्दै लगिने लावतीले बताए । पाठ्यक्रम प्रकाशन र समन्वयका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग हुने जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष जिशिअ राज कुमार विश्वकर्माले बताएका छन् ।