धरान / प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रदै गएपछि छैठो दिन चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन, शिक्षण अस्पतालका डाइरेक्टर र फ्याकल्टीहरु भेट गरेका छन् ।
अनसनरत डा. केसीलाई निमित्त डिन विमलकुमार सिन्हा, अस्पतालका निर्देशक दीपक महरा, वरिष्ठ चिकित्सकहरु जगदीशप्रसाद अग्रवाल, जीवनकुमार श्रेष्ठ, सरोज झालगायतले टोलीले भेटेर स्वास्थ्य अवस्था बुझ्दै तत्काल उपचारको लागि टोली गठन गर्ने बताएका छन् ।
उनीहरुले केसीप्रति आफ्नो समर्थन र सदभाव भए पनि बाध्यतावस सहयोग गर्न नसकेको उनीहरुले बताएका थिए । डा। केसीको स्वास्थ्य अवस्था विग्रिंदै गएपछि आजैबाट वरिष्ठ चिकित्सक दिव्यासिंह शाहको नेतृत्वमा चिकित्सकको टोली खटिएको छ ।
डा केसी यसपटक छिटै गलेको जानकारी दिंदै डा। शाहले केसीको रगतमा चिनीको मात्रा निकै कम भएको, सोडियम पनि कम भएको, बोल्दा अक्सिजन स्याचुरेसन निकै कम हुने र मुटुको धडकन घटबढ भइरहेको पनि जानकारी दिएकी छन् ।