सूचना प्रविधिमा आधारित अनुगमन सुरु
काठमाडौँ/भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतमा सञ्चालित विकास योजना खासगरी पूर्वाधार (सडक तथा पुल)को सूचना प्रविधिमा आधारित अनुगमन सुरुआत गरेको छ ।
पहिलो चरणमा मन्त्रालय अन्तर्गत सडक विभागले निर्माणाधीन पुलको अनुगमनका लागि ‘आइटी एप्लिकेसन’ तयार गरी आजदेखि कार्यान्वयनमा ल्याएको छ । ‘ब्रिज साइड मनिटरिङ सिस्टम एप्लिकेस’ नाम दिइएको सो सफ्टवेयरबाट विभाग अन्तर्गत निर्माणाधीन ४०० पुलको अनुगमन मोबाइल मार्फत नै गर्न सकिने छ । साथै सञ्चालनमा रहेका पुलका अवस्था बारेमा पनि यसले जानकारी दिनेछ । खासगरी बाढी पहिराले पुललाई क्षति पु¥याएमा तत्काल प्राविधिकमार्फत जानकारी लिन सकिनेछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो प्रविधिको शुभारम्भ गर्दै सडक सञ्जालको विस्तारसँगै पुल निर्माणमा स्थानीय समुदायको मागलाई सम्बोधन गरिने जानकारी दिए । विपद्का समयमा पुलको अवस्थाका बारेमा जानकारी लिने प्रविधि विकसित हुनु सकारात्मक हो भन्दै उनले भूकम्पले क्षति पु¥याएका पुलका संरचनालाई तत्काल पुनःनिर्माणमा प्राथमिकता दिन निर्देशन दिए ।
मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीले अनुगमनको प्रविधि विकास हुनु आफैँमा सकारात्मक पक्ष भए पनि यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन विभागलाई निर्देशन दिए । विश्व बैंकका नेपाल व्यवस्थापक ताकुया कामाताले समयमा सडक र पुल निर्माण सम्पन्न गर्न प्रभावकारी अनुगमनको खाँचो औँल्याए ।
कार्यक्रममा सडक विभागका महानिर्देशक देवेन्द्रकुमार कार्की, नायब महानिर्देशक सरोजकुमार प्रधान र पुल शाखाका प्रमुख नरेशमान शाक्यले सूचना प्रविधिमा आधारित अनुगमनलाई प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।