काठमाडौँ/नेवाः पत्रकार राष्ट्रिय दबुले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई भेटी मन्त्रालयले प्रत्येक वर्ष सञ्चारसम्बद्ध सङ्घसंस्थालाई दिँदै आएको अनुदान समानुपातिक र न्यायोचित रुपमा वितरण गर्ने लगायत माग राखी आज ज्ञापनपत्र बुझाएको छ ।
दबुले दक्ष पत्रकार उत्पादन गर्न, पत्रकारलाई थप दक्ष बनाउन तथा समावेशी र समग्र पत्रकारिताको विकासका लागि क्रियाशील भइरहेको अवस्थालाई गम्भीरतापूर्वक ध्यानमा राखी न्यायोचित अनुदान दिनुपर्ने, नेपालमा बोलिने सबै मातृभाषाबाट गरिने पत्रकारितालाई पनि नेपाली पत्रकारिताको परिभाषाभित्र समेटिनुपर्ने लगायत माग राखेको छ ।
यसैगरी श्रमजीवी पत्रकारको हकहितका लागि श्रमजीवी पत्रकार ऐन प्रभावकारी रुपमा लागु गर्नुुपर्ने, नेपाल पत्रकार महासङ्घको सदस्यता वितरणमा केही दल निकट पत्रकारको एकाधिकार रहेको जनाउँदै त्यसलाई लोकतान्त्रिक र समावेशी बनाउनुपर्ने लगायत माग पनि राखिएको छ ।
दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले प्रेस काउन्सिल नेपाल, सूचना विभाग अन्तर्गतका समिति पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय आमसञ्चार प्रतिष्ठान आदिको संरचनालाई पूर्ण समावेशी बनाइनुपर्ने बताए।
मन्त्री कार्कीले नेपाली भाषा बाहेक अन्य राष्ट्रिय भाषालाई उत्थान गर्दै लैजानुपर्ने विचार व्यक्त गर्दै प्रत्येक समुदायका मातृभाषालाई जगेर्ना गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो उहाँले नेपाल भाषा, मैथिली भाषा र भोजपुरी भाषा पत्रकारिता क्षेत्रमा प्रयोग गरिनुपर्ने बताए ।