विजयपुर/राष्ट्रपती बिद्यादेबी भण्डारीले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक नेपाल विद्याभूषण (क) पदकवाट सम्मानित गरेकी छिन् । सम्मानित हुनेहरुमा मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह, मुटु शल्यक्रिय विशेषज्ञ डा. लोकेश जैशवाल र डा. शमशेर श्रेष्ठ रहेका छन् ।
डा. शाहले कार्डियोलोजी र डा. जैशवालले कार्डियोथोरासिक सर्जरीमा तथा डा. श्रेष्ठले ह्युमन एनाटोमी विषयमा विद्यावारिधी गरेको भन्दै पदकद्धारा सम्मान गरिएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए । प्रतिष्ठानका उपकुलपती प्राडा बलभद्रप्रसाद दाशले निष्ठावान र सक्षम डाक्टरहरुले विशिष्ट अध्ययन पूरा गरी उच्च सम्मान पाएकोमा प्रतिष्ठान गौरावान्वीत भएको बताएका कार्डियोलोजीमा बढीमा १० जना र कार्डियोथोरासिक सर्जरीमा बढीमा ५ जना ले मात्र विद्यावारीधी गरेको जानकारी दिए । पदकबाट सम्मानीत भएका डा.शमशेर श्रेष्ठ नेपालकै पहिलो डाक्टर हुन् । आफुलाई प्रतिष्ठानले नै भारतको बनारस हिन्दु विश्वविद्यालयमा स्पोन्सर्ड गरी विद्यावारीधी सम्मको उच्च अध्ययन गराएको भन्दै प्रतिष्ठानको सेवामा निष्ठापूर्वक लाग्ने डा. श्रेष्ठले बताए ।
डा. शाह र डा. जैशवाल दुवैले अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयां दिल्लीवाट विद्यावारीधी गरेका हुन् । डा. शाहले एमविविएस भने प्रतिष्ठानवाटै गरेका हुन् ।
काठमाण्डौं वाहिर पनि मुटुको उपचार सेवा शुरु गरौं भनेर प्रतिष्ठानमा आएको हुंः डा. प्रशान्त
मुटु रोग सम्बन्धि विषयमा विद्यावारीधी गरेका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. प्रशान्त शाहले काठमाण्डौं वाहिर पनि मुटु रोग सम्बन्धि उपचार सेवा विस्तार गर्न आफु वी.पी. प्रतिष्ठानमा आएको बताउछन् । मुटु सम्बन्धि रोगको उपचार काठमाण्डौंमा मात्र सिमित हुंदा काठमाण्डौं वाहिरका विरामीहरुलाई उपचारका लागि काठमाण्डौंसम्म पुग्न सम्भव नहुने हुंदा अकालमै ज्यान गुमाउनु पर्नेे अवस्थालाई हटाउन आफु प्रतिष्ठानमा आएको उनले बताए ।
‘हामी मुटु रोगीहरुलाई एम्वुलेन्समा हालेर काठमाण्डौं सम्म पठाउन सक्दैनौं, हुनेखानेले त हेलिकप्टरवाट लान्छन् तर सबैको त्यो क्षमता हुंदैन,डा शाहले भने प्रतिष्ठानमै सेवा दिन सके धेरै विरामीले अकालमा ज्यान गुमाउन पर्दैन भनेरै एम्समा अध्ययन गर्दा नै आफु र डा. जैशवालले प्रतिष्ठान गएर सेवा गर्ने सोच बनाएका थियौं । डा. शाह र डा. जैशवालले प्रतिष्ठानमा सेवा दिन थालेपछि अहिले मुटु रोग सम्बन्धि सबै खाले उपचार सुरु भएको छ ।