बुटवल/ देश दर्शनका लागि निस्किएको ज्येष्ठ नागरिकको टोलीले आज लुम्बिनीको अवलोकन गरेको छ । एक साताका लागि राजधानीबाट निस्किएका ज्येष्ठ नागरिकको टोलीलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । ज्येष्ठ नागरिकलाई देशका महत्वपूर्ण प्राकृतिक, ऐतिहासिक तथा तीर्थस्थलको भ्रमण गराउने कार्यक्रमअन्तर्गत आज बुद्ध जन्मस्थल अवलोकन गराइएको हो । लुम्बिनीमा ज्येष्ठ नागरिकले मायादेवी मन्दिरमा पूजा तथा प्रार्थना गरेका थिए । यस्तै उनीहरुलाई लुम्बिनीमा रहेका बिभिन्न बौद्ध गुम्बाको समेत अवलोकन गराइएको मनमोहन स्मृति प्रतिष्ठनका सचिव शान्ति अधिकारीले बताए। मनमोहन स्मृति प्रतिष्ठानले एक सय ५० ज्येष्ठ नागरिकलाई हरेक वर्ष झैँ यस पटक पनि देशदर्शन गराइरहेको छ । लुम्बिनीमा भिक्षु सागरले बौद्ध दर्शनका बारेमा जानकारी दिएका थिए। उनले प्रतिष्ठानले हरेक वर्ष यस किसिमको देश दर्शन गराउनु वृद्धवृद्धाको र मनमोहन अधिकारीको समेत सम्मान हो भन्दै यस किसिमका कार्यक्रम सरकारले नै सञ्चालन गर्दा अझै प्रभावकारी हुने बताए । सो अवसरमा लुम्बिनी विकास कोषका पूर्वकोषाध्यक्ष लक्ष्मीदास मानन्धरले लुम्बिनी, बौद्ध दर्शन र यसको महत्वबारे जानकारी गराएका थिए । ज्येष्ठ नागरिकहरु लुम्बिनी, चितवन र कास्कीको भ्रमण गरी यही फागुन १७ गते घर फर्कनेछन् । टोलीमा मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडाँैको स्वास्थ्य टोलीसमेत सहभागी छ ।