धनकुटा । कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् ।
जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीँ अहिले मौरीका घार राखिएका छन् । जङ्गलका रुखबिरुवा, खोलानाला र प्राकृतिक वातावरणको उपयोग गर्दै किसानले मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि धनकुटामा मौरीपालनप्रति आकर्षण बढ्दै गएको छ ।
खेती गर्न कठिन जमिनलाई समेत उपयोगमा ल्याएर आम्दानी गर्न सकिने भएपछि स्थानीय किसानका लागि मौरीपालन वैकल्पिक पेसामात्र नभई आत्मनिर्भर बन्ने माध्यम बन्दै गएको छ । थोरै जनशक्ति र तुलनात्मक रूपमा कम दैनिक श्रमबाट सञ्चालन गर्न सकिने यस व्यवसायले ग्रामीण क्षेत्रमा नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको छ ।
धनकुटा नगरपालिका वडा नं १ का दुर्गा दर्लामी एक उदाहरण बनेका छन् । उनले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । पाख्रिबास नगरपालिका–९ मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्न सक्नु उनका लागि सन्तुष्टिको विषय बनेको छ । परम्परागत खेतीपातीबाट पर्याप्त लाभ लिन कठिन हुने ठाउँमा मौरीपालनले आम्दानीको सम्भावना देखाएको उनको भनाइ छ । दर्लामीकै जस्तो अनुभव विदेशबाट फर्किएका शुक्र राईको पनि छ । वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मौरीपालनमा सम्भावना देखे र यही व्यवसायलाई आफ्नो कर्मथलो बनाएका छन् । सामान्य रूपमा सुरु गरेको मौरीपालन अहिले उनको व्यावसायिक पहिचान बनेको छ । हाल राईसँग २०० भन्दा बढी आधुनिक मौरीघार छन् । उनले मौरीपालनसँगै आधुनिक मौरीघार उत्पादन गर्ने उद्योगसमेत सञ्चालन गरिरहेका छन् । वार्षिक ५०० देखि ७०० सम्म मौरीघार निर्माण गरी मौरीसहित र घारमात्र बिक्री गर्दै आएको उनको भनाइ छ । मह, मौरी र मौरीघार बिक्रीबाट उनले वार्षिक रु २० देखि २२ लाखसम्म आम्दानी गर्दै आएको बताए ।
प्राकृतिक वातावरणले दिएको अवसर
धनकुटाको भौगोलिक बनावट र हावापानी मौरीपालनका लागि अनुकूल मानिन्छ । विशेषगरी जिल्लाको तल्लो क्षेत्रका गर्मी हुने भूभाग, वनजङ्गल र खोला नजिकका स्थान मौरीपालनका लागि उपयुक्त देखिएका छन् । वनजङ्गलमा पाइने विभिन्न वनस्पति र फूलबाट मौरीले आहारा सङ्कलन गर्न पाउने भएकाले यस्ता क्षेत्रमा मौरीपालनको सम्भावना बढी छ । खेतीयोग्य जमिनको अभाव वा चट्टानी भूभागका कारण कृषि उत्पादन गर्न नसकिने ठाउँलाई समेत मौरीपालनमा उपयोग गर्न सकिन्छ ।
यही प्राकृतिक अनुकूलताका कारण पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा किसानले मौरीका घार विस्तार गर्न थालेका छन् । कम जमिनमा पनि सञ्चालन गर्न सकिने र अन्य कृषि गतिविधिसँगै व्यवस्थापन गर्न सकिने भएकाले यस व्यवसायले किसानको ध्यान तानिरहेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ । जिल्लामा वार्षिक करिब २९ दशमलव ६ मेट्रिकटन मह उत्पादन हुने गरेको छ । मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गरिरहेको केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए । उनले यो तथ्याङ्कले धनकुटामा मौरीपालन व्यक्तिगत आम्दानीको माध्यममा मात्र सीमित नरही जिल्लाकै कृषि अर्थतन्त्रमा योगदान पुर्याउने व्यवसायका रूपमा विकास भइरहेको देखाएको बताए ।
महको बजार विस्तार, किसानमा उत्साह
धनकुटामा उत्पादन हुने महको बजार पनि विस्तार हुँदै गएको छ । स्थानीय बजारदेखि तराईका विभिन्न सहर र काठमाडौँ उपत्यकासम्म मह पुग्ने गरेको छ । उत्पादित मह अन्तर्राष्ट्रिय बजारसम्मसमेत पुग्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । विषादीरहित उत्पादनका रूपमा बजारमा पहिचान बनाउन सकेको धनकुटाको महप्रति उपभोक्ताको आकर्षण बढेको छ ।
बजारको माग र बिक्रीको सम्भावनाले किसानलाई उत्पादन विस्तार गर्न थप उत्साहित बनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकामा जिल्लाकै बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
विषादी प्रयोग चुनौती बन्दै
सम्भावना हुँदाहुँदै पनि मौरीपालन व्यवसाय चुनौतीमुक्त भने छैन । विशेषगरी जिल्लाको माथिल्लो क्षेत्रमा हुने तरकारीखेतीमा विषादीको प्रयोगले मौरीपालनमा समस्या सृजना गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रानामगरले बताए । विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र उत्पादनमा असर पार्न सक्ने भएकाले मौरीपालक किसानका लागि यो गम्भीर चुनौती बनेको छ । कृषि उत्पादन र मौरीपालनलाई सँगसँगै अघि बढाउन विषादीको सुरक्षित प्रयोग, किसानबीच समन्वय र सचेतना आवश्यक रहेको मौरीपालक किसानको भनाइ छ ।
आधुनिक प्रविधि, गुणस्तरीय घार, मौरीको स्वास्थ्य व्यवस्थापन, उत्पादनको गुणस्तर र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसानको भनाइ छ । कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गरी मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । यसबाट कृषि क्षेत्रमा रोजगारी सृजना हुनुका साथै स्थानीय किसानको जीवनस्तर सुधारमा सहयोग पुग्ने केन्द्र प्रमुख रानामगरको भनाइ छ । रासस

































