विजयपुर/ धरानमा जारी पिण्डेश्वर अष्टादश महापुराणमा मङ्गलबार अठार पुराणको नेपाली भावानुवाद सङ्ग्रह विमोचन गरिएको छ ।

मार्कण्डेय, मस्त्य, भागवत्, भविष्य, ब्रह्म, ब्रह्माण्ड, ब्रह्मवैवर्त, विष्णु, वराह, वामन, शिव, अग्नि, नारद, पद्म, लिङ्ग, गरुड, कूर्म र स्कन्द पुराणको भावानुवाद गरिएको एक हजार आठ सय २० पृष्ठको सङ्ग्रह विमोचन गरिएको हो ।

सुनसरी, मोरङ र धनकुटाका सिडियो, क्षेत्रीय प्रशासक, धरान उपमहानगरपालिकाका प्रमुख, इलाका प्रशासन कार्यालयका प्रमुख, कल्याणी माता लगायतले पुस्तकको सामूहिक विमोचन गरेका हुन् ।

महापुराण आयोजक समितिका संयोजक तथा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र साहले महापुराण उद्घाटनकै समयमा पुस्तक विमोचन गर्नुपर्ने भएपनि प्राविधिक कारणले ढिलो भएको बताए । बन्द र प्रतिकूल मौसमका बाबजुद पनि महापुराणमा उल्लेख्य सहभागिता भइरहेको उनले बताए । आयोजक समितिका सचिव सीताराम आचार्यले महापुराणमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तहरू आइरहेको जनाए ।