‘बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, म त घरमा मात्र पानी पिउँछु,’ यदि हामीमध्ये कसैले यस्तो बानी छ भने ख्याल राखौँ आफूले आफ्नै मिर्गौला बिगार्दै छौँ।
पछिल्लो समय आम्दानीका लागि विदेशिएका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष दिन नबित्दै स्वदेश फर्किनु परेका घटना सार्वजनिक हुन थालेका छन्। जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आए पनि खाडी मुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या आउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ।
खाडी मुलुकमा गएका युवाले लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने, शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु खाने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिराम काफ्ले बताउँछन्।
शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ। रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ। शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो। हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो।
तर, पर्याप्त पानी नपिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको छ। पानी मात्र होइन खानामा आएको परिवर्तनका कारण हुने मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ।
अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। मोटोपनलाई मिर्गौलामा समस्या आउने सङ्केतका रुपमा लिनुपर्ने हुन्छ।
त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह मधुमेह र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउँछिन्।
यस्ता कारणले मात्र मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइराख्नुपर्नेमा उनी जोड दिन्छिन्।
हामीले एक दिनमा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ। तर मिर्गौलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ। पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, सास फेर्न गार्हो हुन्छ, रक्तचाप बढ्छ, खानामा रुची घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ। यीमध्ये कुनै पनि समस्या छन् भने तुरुन्त जाँच गराउनुपर्छ।
नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्याङ्कमा उल्लेख छ। जसमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ। रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन्।
डा. शाहका अनुसार नेपालमा प्रत्येक वर्ष अन्तिम अवस्थाका मिर्गौलाका नयाँ रोगी करिब तीन हजार थपिने गरेका छन्। उनीहरु डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० मध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुन्छ।
त्यसैले मिर्गौला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्ने उनको सुझाव छ। समयमै ध्यान पुर्याउन सके सबै मिर्गौला रोग निको हुन्छ।