चतरा/ रामानन्दाचार्य सेवापीठ चतराधामका संरक्षक १००८ श्री वैष्णव कृष्णदास महाराज आज बुधबार भूसमाधिबाट जागृत हुने भएका छन् । चैत १६ गते बुधबारबाट शुरू भएको १५ दिने रामनवमी तथा हनुमान जयन्ती महोत्सवको अवसरमा भूसमाधिमा बसेका उनी आज आठौं दिनमा जाग्रत हुने भएका हुन् । प्राचीन हरिद्वार चतराधामलाई धार्मिक पर्यटकीय क्षेत्र र आयुर्वेद शिक्षालय बनाउने उद्देश्यले शुरू गरिएको महोत्सवको अवसरमा भूसमाधिमा बसेका कृष्णदास आज १० बजे जागृत हुने भएकोले श्रद्दालु भक्तजनहरू आशीर्वाद प्राप्तिका लागि देश–विदेशबाट उपस्थित भइसकेको सेवापीठले जनाएको छ । कृष्णदास भूसमाधिमा बसिसकेपछि हरेक दिन बिहान ध्यान, जप, महायोग, दैनिकी रामायणको सङ्गीतमय पाठ–परायणपश्चात् भारतका प्रसिद्ध रामायण कथावाचिका देवीभक्ति प्रियाबाट सङ्गीतमय कथा प्रवचन हुँदै साँझ ६ बजेदेखि ८ बजेसम्म पुनः ध्यान, जप–साधनासहित सत्सङ कार्यक्रम चलिरहेको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले जानकारी दिए । आज समापन हुनेगरी सञ्चालित कार्यक्रम तथा वसन्त नवरात्र कार्यक्रमको अन्तिम दिन पीठपरिसरमा अन्य विभिन्न कार्यक्रममध्ये वृहत्तर वराहक्षेत्र विकास समितिको तर्पmबाट नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी समेतको उपस्थिति रहने पीठका गोविन्दबाबु तिवारीले बताए । तिवारीका अनुसार सेवापीठका तर्पmबाट अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी ६ सय साधकले महोत्सवमा सहभागिता जनाइसकेको पीठले जनाएको छ । रामनवमीको बेला भूसमाधिमा बस्दै आइरहेका पीठका संरक्षक कृष्णदास महाराजजी यसअघि नेपालमा दुईपटक र भारतमा तीनपटक भूसमाधिमा बसिसकेका छन् ।