धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन वर्षे फेलोसिप इन युरोगाइनेक्लोजी सुरु हुने भएको छ। अमेरिकास्थित इन्टरनेसनल युरोगाइनेक्लोजी एसोसिएसनको सहयोगमा दक्षिण एसियामै पहिलोपटक प्रतिष्ठानमा यो विषयमा फेलोसिप सुरु हुन लागेको प्रतिष्ठानका स्त्री तथा प्रसूती रोग विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।
स्त्री तथा प्रसूती रोग विशेषज्ञको १३औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा हालै काठमाडौंमा जम्मा भएका दक्षिण एसियाका वरिष्ठ चिकित्सकहरुले प्रजनन् तथा स्त्री रोगका विषयमा मिलेर काम गर्न साउथ एसियन फेडेरेसन अफ युरोगाइनेक्लोजी नामक संस्था गठन गरेका थिए। सम्मेलनको समापन पश्चात भारत र अमेरिकाका विशेषज्ञ टोलीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेका थिए। सोही अवसरमा यो फेलोसिप कार्यक्रमको घोषणा गरिएको हो।
प्रतिष्ठानमा यस्तो कार्यक्रम सुरु हुनु गौरवको विषय रहेको र कार्यक्रमलाई सफल पार्ने डा रेग्मीले बताए। उनले भने, ‘यो हाम्रा लागि राम्रो अवसर हो। यसले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ।’
साउथ एसियन फेडेरेसन अफ युरोगाइनेक्लोजी दक्षिण एसियाका महिलामा हुने आङ खस्ने, पिसाब चुहिनेजस्ता समस्याको गुणस्तरीय उपचार सेवाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग, समन्वय र शोध प्रक्रियामा समन्वय गर्न गठन गरिएको बताइएको छ।
‘प्रजनन स्वास्थ्य बदलिँदो परिवेश’ भन्ने नारासहित २५ भन्दा बढी देशका विशेषज्ञ सहभागी सम्मेलनमा अत्याधुनिक प्रविधिलाई प्रयोग गरी महिला स्वास्थ्यमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई कार्यपत्रहरु प्रस्तुत भएका थिए। सोही अवसरमा भारतका प्राडा विनित मिश्राको अध्यक्षमा गठित संस्थाको कार्यसमितिमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मी उपाध्यक्ष छन्। संस्थामा दक्षिण एसियाका सबै राष्ट्रको प्रतिनिधित्व रहेको छ।स्वास्थ्यखबरबाट