काठमाडौं/ निजी विद्यालयले बढाएको शुल्क फिर्ता नगरेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आज अनेरास्ववियु केन्द्रीय कार्यालयमा सम्पन्न भएको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले जिल्ला शिक्षा कार्यालय घेराउदेखि निजी विद्यालयमा तालाबन्दी गर्नेजस्ता आन्दोलनको कार्यक्रम घोषणा गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो ।
उहाँले अभिभावकको ढाडसेक्नेगरी वृद्धि गरिएको शुल्क सरकारले फिर्ता गराउन बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । “हामीले तीन दिनभित्र वृद्धि शुल्क फिर्ता गर्न आग्रह गरेका थियौँ तर सरकारले शुल्क फिर्ता गर्न सकिएन्”– अध्यक्ष लामाले भन्नुभयो, “त्यसैले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको हो ।”
उहाँका अनुसार बुधबार देशभरिका जिल्ला शिक्षा कार्यालयमा घेराउ गर्ने, बिहीबार चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासनमा तालबन्दी गर्ने र शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको केन्द्रीय र जिल्ला कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम छ ।
यसैगरी आन्दोलनका अवधिमा संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट स्कुलको शुल्क अनुगमन पनि गर्ने उहाँले जानकारी गराउनुभयो । यस्तै बैठकले त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते सम्पन्न गर्न नसकेका क्याम्पसमा स्ववियु निर्वाचन जेठ मसान्तपछि गर्ने त्रिविलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
स्नातकोत्तर तहमा लागू भएको सेमेस्टर प्रणालीलाई अझ समृद्ध र सहज बनाउनका लागि पनि त्रिविलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको छ ।