धरान/अपाङ्गत्व न्युनिकरण उद्देश्यले अपाङ पुनस्र्थापना तथा असहाय सेवा केन्द्र धरानले आँखा तथा कानको निःशुल्क शिविर बिहीबार सम्पन्न गरेको छ । केन्द्रको नियमित कार्यक्रम अन्तर्गत ‘सर्जिकल स्क्रिनिङ क्याम्प’ गरिएको हो । क्याम्पमा १५० जना सहभागी थिए । त्यसमध्ये १८ जनाको आँखा र कानको सल्यक्रिया गर्नु पर्ने अवस्थाको रहेको बताएका छन् । उनीहरुलाई विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क सल्यक्रिया गरिने केन्द्रका निर्देशक सुनिल खड्काले बताए । उनीहरुलाई बिहीबार नै विराटनगर लगिएको छ । डा. मनिष विश्वास नेतृत्वमा आएका प्राविधिकहरुले आँखा कान चेकजाँच गरेका थिए । कानको २ जना, १४ जना मोतियाविन्दु र २ जनामा आँखाको मासु पलाएको अवस्थामा भेटिएको थियो । यसैबीच विभिन्न स्कुलमा पढ्ने असहाय तथा अपाङहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । कार्यक्रममा सञ्जना मल्लिक, रोहन बुढाथोकी, कला परियारलगायतलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । उनीहरु धरानका विभिन्न स्कुलमा अध्ययरत छन् ।