काबुल/ काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले मङ्गलबार बताए ।

अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तरराष्ट्रिय शान्ति सम्मेलनमा घानी उक्त जानकारी दिए । गत हप्ता भएको यो आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै भीषण आक्रमण भएको जनाइएको छ ।

यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताउनु भएको छ । घाइते हुनेहरुमा जलेका र अङ्गविच्छेद भएकाहरुसमेत रहेका उहाँले सो सम्मेलनमा बताए । यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो ।

यस भीषण आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टिलक्षित बम विस्फोट परी कम्तीमा सातको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारण घाइते भएका थिए ।

रासस÷एएफपी