धरान/२३ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।  देशभर बाढी पहिरोले सयौं जनाको ज्यान गएको जानकारी पाएका डा. केसी मंगलबार डाँको छाडेर रोएका थिए ।

यसअघि मुलुकका जुनसुकै कुनामा पनि आपत विपदमा परेका नागरिकको सेवामा जुट्ने गरेका केसी देशभर बाढी पहिरोमा परेर सय बढीको ज्यान गएको खबर पाएपछि डाँको छाडेर रोएका थिए ।

उनले माथेमा प्रतिवेदनको भावनाअनुसारको विधेयक संसद्बाट पारित नभएसम्म कुनै पनि हालतमा अनशन नतोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  तर देशभर बाढीले पारेको असर सुनेपछि उनी सत्याग्रह स्थगित गर्ने अवस्थामा पुगेका थिए ।  सरकारले पनि माग पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दै डा. केसीलाई अनशन स्थगित गर्न आग्रह गरेको थियो ।

मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै केसीले सत्याग्रह स्थगित गरेको जानकारी गराएका हुन् । “देशभर आइलागेको बाढीजन्य प्राकृतिक विपत्तिबाट म आहत भएको छु । धेरै परिवारहरुले आफ्ना सदस्य गुमाएका छन् भने धेरैको वास र रोजीरोटीसमेत गुमेको छ । साथै बाढी कम भएपछि समेत आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्ने चुनौती हामीसामु छ । यस्तो संकटको बेला हामी स बैको जिम्मेवारी पीडामा परेका मानिसहरुलाई सहयोग गर्नु हुन जान्छ । त्यसैले विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छु,” केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमा कुनै पनि बेला बदमासी गर्न खोजे सत्याग्रह पुनः सुरु गर्ने बताएका छन् ।

बाह्खरीबाट