छारेरोग एक किसिमको मस्तिष्क रोग हो । यस रोगले मानिसको मस्तिष्कमा असामान्य रुपले विद्युत तरंग उत्पन्न गर्छ । जसले गर्दा बिरामी मुर्छा पर्ने, आखाँ पल्टाउने, मुखबाट फिँज निकाल्ने, हातखुट्टा झट्काउने र एकाएक आफै ब्युँझने गर्छन् । यो रोग अरु रोगजस्तै शरीरभित्रको खराबीका कारणले पैदा हुन्छ । विभिन्न कारणले मस्तिष्कमा असर पारेपछि यो रोग लाग्छ । छारेरोगका कारण - जन्मँदा मस्तिष्कमा लागेको चोट, - स्तिष्क ज्वरो (इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, आदि), - टाउकोमा चोटपटक लाग्नाले, - मस्तिष्कमा ट्युमर भएमा, - अत्यधिक रक्सी सेवन गरेमा, - अनिद्रा, तनाव आदि भएमा, - रगतमा चिनीको मात्रा कम भएमा, - महिनावारी समस्या वा हर्मोनको गडबडी हुँदा, - डाक्टरले दिएको छारेरोगको औषधि नियमित सेवन नगरे, - चम्किलो बत्ती वा कुनै विशेष प्रकारको संगीत–आवाजले, - कुनै–कुनै औषधि (जस्तै– एन्टी साइकियाट्रिक, एन्टी डिप्रेसन मेडिसिन आदि) का कारण, - मस्तिष्कलाई असर पार्ने कुनै पनि कारण (जस्तै– धेरै लामो अवधिको कडा कमलपित्त, कडा खालको मिर्गौला रोग, परजीविका कारण आदि) । छारेरोगका लक्षण छारेरोग धेरै प्रकारका हन्छन् । मस्तिष्कको कुन भागमा असर परेको हो सोही आधारमा विभिन्न लक्षण देखा पर्छन् । - मुर्छा पर्ने, - आखाँ पल्टाउने, - फिँज निकाल्ने, - जिब्रो तथा ओठ टोक्ने, - कसैकसैले थाहै नपाई दिशा वा पिसाब गर्ने, - शरीर कमजोर हुने, - टोलाएर बस्ने, - शरीरको गतिविधि अनियमित हुने, - शरीर कडा हुने र सन्तुलन बिग्रने, - बेहोसीबाट ब्युँझिएपछि केही समय बेसुर हुने, थकाइ महसुस गर्ने र निदाउने, - शुरुमा कहिलेकाँही मात्र छोप्ने व्यक्तिलाई उपचार नगरेमा छिटोछिटो छोप्न सक्ने र दिनमा धेरै पटक पनि छोप्ने, - अप्ठेरो ठाउँ या आगोको नजिक छोप्दा चोटपटक लागि अंगभंग हुने वा जल्ने मात्र नभई एक्कासी मृत्युसमेत हुने, आदि । छारेरोगले छोपेका बेला बिरामीका आफन्तले के गर्ने ? - धेरै जस्तो छारेरोगले ५ मिनेटभन्दा छोटो अवधि छोप्ने भएकाले नआत्तिने, - चोटपटक लाग्न सक्ने सामानहरु (जस्तै– आगो, पानी, धारिलो हतियार आदि) बिरामीको वरिपरिबाट हटाउने, - बिरामीलाई सजिलो ठाउँमा सुताउने, - बिरामीको नाक वा मुखबाट केही पदार्थ निस्केको छ भने त्यसलार्ई पुछिदिने र सफा राख्ने, - बिरामीले लगाएका लुगा कस्सिएको छ भने खुकुलो बनाइदिने, यदि चस्मा लगाएको छ भने फुकालिदिने, - बिरामीले पूर्णरुपले स्वस्थ महसुस नगरुन्जेल साथमा रहने र डाक्टरको सल्लाह लिने । छारेरोगले छोपेका बेलामा बिरामीका आफन्तले के नगर्ने ? - बिरामीको मुख खोल्ने प्रयास नगर्ने, - बिरामीलाई समात्ने वा रोक्ने प्रयास नगर्ने, - बिरामीलाई जुत्ता, प्याज वा अन्य दुर्गन्ध नसुघाँउने । हाम्रो समाजमा दुर्गन्धित मोजा सुँधाउनुपर्छ भन्ने भ्रम छ, त्यसलाई त्यागिदिने, - छारेरोगका बिरामीलाई जोखिमपूर्ण गतिविधि (जस्तै– ड्राइभिङ, रुख चड्ने, पौडिने आदि) गर्न नदिने । छारेरोग पटक–पटक दोहरिन नदिन के–के गर्ने ? - नियमित औषधि लिने, - पर्याप्त मात्रामा निद्रा पु¥याउने, - चिन्ताबाट मुक्त रहने, - योगा र ध्यान गर्ने, जसले गर्दा मन शान्त रहोस्, - मध्यपान र धूमपान सेवन नगर्ने, - स्वस्थ खाना खाने । माछा–मासुभन्दा फलफूल र सागसब्जी बढी खाने, - पानी प्रसस्त मात्रामा पिउने, - डाक्टरको सल्लाहबिना औषधि घटाउने, बढाउने वा बन्द गर्ने काम नगर्ने । छारेरोगका लागि के परीक्षण गर्ने ? - रगतबाट कलेजो र मिर्गौलाको जाँच, - इइजी, - टाउकोको सिटी स्क्यान वा एमआरआई, - पेट स्क्यान, - आवश्यक परे मस्तिष्कको शल्यक्रिया पनि गर्ने । स्वास्थ्यखबरबाट