‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमार र नायिका प्रियंका कार्कीको यतिबेला वार युद्ध चलेको छ । फिल्म प्रदर्शनको बेला प्रचारमा साथ नदिएको भन्दै बिहीवार प्रियंकामाथी अर्जुनले आक्रोस पोखे । 'फाटेको जुत्ता २' घोषणा गर्दै उनले भने, ‘सायद यो फिल्मबाट उनलाई फाइदा पुग्दैन भनेर पब्लिसिटीमा नहिँडेकी होलिन् । तर, म उनलाई फिल्मको सफलताको श्रेय दिन चाहन्छु ।’
विरगञ्जबाट 'शुत्र गते'को छायांकन सकाएर आज साँझ फिल्म 'ह्याप्पी डेज'को प्रिमियरका लागि लन्डन प्रस्थान गर्न लागेकी प्रियंकाले शुक्रवार फिल्म 'बटरफ्लाई'को गीत सार्वजनिक कार्यक्रममा निर्माता अर्जुन कुमारलाई गज्जबकै जवाफ फर्काइन् । उनले भनिन्, ‘अर्जुन दाईले ममाथि जे आरोप लगाउनु भयो त्यो मलाई चित्त बुझेन । म रहरले 'फाटेको जुत्ता'को प्रचारमा नहिँडेको होइन । म 'शत्रु गते' फिल्मको छायांकनका लागि विरगञ्जमा थिएँ ।’
उनले अगाडि थप्दै भनिन्, ‘मैले 'शत्रु गते'को छायांकन विरगञ्जभन्दा पहिला काठमाडौंमा गर्नका लागि पनि फिल्म निर्माण टीमसँग निकै आग्रह गरेको थिए तर सम्भव हुन सकेन । 'फाटेको जुत्ता'को प्रचारमा मैले मेरो तर्फबाट गर्न सक्ने सबै सहयोग गरेको छु । खुसी लाग्यो 'फाटेको जुत्ता २' बन्न लागेको खबर सुन्न पाउँदा । यो फिल्म पनि हिट होस्, शुभकामना ।’ फिल्म प्रचारमा साथ नदिएको भन्दै निर्माता अर्जुन कुमारले 'फाटेको जुत्ता २' मा सौगात मल्ललाई अनुवन्धित गरे तर प्रियंका अटिनन् ।
अर्जुन र प्रियंकाको हकमा मात्र होइन, नेपालका प्रायः स्टार कलाकारसँग फिल्मका निर्माता र निर्देशकको यस्तो द्वन्द्व बारम्बार हुँदै आइरहेको छ । फिल्ममा काम गर्ने तर पब्लिसिटीमा हिँड्नु पर्ने जब समय आउँछ तब बेपत्ता हुने कलाकारको बानीले विशेषत निर्माताको लाखौंको लगानी बालुवामा पानी हालेझैँ भएको छ । फिल्मको प्रचारमा हिँड्दा त्यसको फाइदा कलाकारलाई नै हुने हो । के फिल्मको प्रचारमा साथ दिनु कलाकारको धर्म होइन र ?