बिर्तामोड/ साइबर क्राइमका घटनाहरु बढ्दै गएको भन्दै कम्प्युटर एशाेसिएसन नेपाल झापा शाखाले बिर्तामोडमा एकदिने साइबर सुरक्षा सम्बन्धि अन्तरकृया सचेतना कार्यक्रम गर्ने भएको छ ।

कम्प्युटर एशाेसिएसन नेपाल झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सहआयोजनामा शनिवार सो कार्यक्रम हुने विहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । व्यक्तिगत सूचनादेखि लिएर संस्थागत गोप्य सूचनाहरु, सरकारी डिजिटल दस्तावेज, सुरक्षा योजनाहरु साथै बैँक तथा वित्तिय कारोवारहरु बढ्दो प्रविधिको प्रयोगसँगै जोखिममा रहेको जनाएको छ । पछिल्लो समय नेपालमा समेत सामाजिक सञ्जालको माध्यमबाट ठगी गर्ने, मानव ओसार-पोसार तथा मानव बेचविखन जस्ता गैरकानुनी कार्य गर्ने, सामाजिक अपराधजन्य घटना मात्र नभएर बैकिङ कारोवारलाई समेत अदलवदल गरी रकम भुक्तानीका घटना बढ्दै गएकोले  कार्यक्रमको आयोजना गरिएको क्यानका झापा अध्यक्ष लक्ष्मीकान्त खनालले बताए । आम सर्वसाधारण, सरकारी निकाय, सुरक्षा निकाय गैरसरकारी निकाय, कैकिङ तथा वित्तिय संस्थाहरु, बिद्यालय तथा क्याम्पस लगायतलाई लक्षित गरी सञ्चालन गरिने कार्यक्रमको उदेश्य प्रविधि प्रयोगकर्ताहरुमा सचेतना बृद्धि गर्ने रहेको छ । त्यसैगरी साइवर सुरक्षा राष्ट्रिय नीतिमा सुधार गर्न सहगोग गर्ने, स्थानीय तहमा साइवर सुरक्षा वारे नीति निर्माण गर्न सहजीकरण गर्ने र प्रविधि अधिकार कर्ता र प्रयोगकर्ताविच पुल वा सेतुको काम गर्न सहयोग पुर्याउने उदेश्य राखेको क्यानका केन्द्रीय सदस्य दिपेश पाठकले बताए । ‘अहिले ठगी गर्नका लागि हतियारको प्रयोग गर्नु पर्दैन’ केन्द्रीय सदस्य पाठकले भने ‘ बिद्युतीय कारोवार अहिले झन् खतरनाक भएको छ ।’ बिर्तामोड इप्रकाका डिएसपी कृष्ण कोइरालाले पछिल्लो समयमा सामाजिक सञ्जालबाट ठगी गर्ने घटनाहरु बढ्दै गएको बताए । साइबर क्राइमका घटना काडमाडौँमा मात्र हेरिदै आएको बताउँदै जिल्लामा त्यस्ता घटना हेर्ने कुनै निकाय नभएकाले प्रहरीमा आउने उजुरीका आधारमा प्रहरीले नै त्यो घटना हेर्दै आएको बताए । चारसय जनाको सहभागिता रहने अपेक्षा आयोजकले गरेको सो कार्यक्रममा साइबर अपराध विशेषज्ञ डाक्टर अभिजित गुप्ता र इप्रका बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले सहजीकरण गर्ने जनाइएको छ ।